काठमाडौँ, वैशाख ३० गते । प्लानिङ ब्वाइज युनाइटेड क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत एन्फा मैदान सातदोवाटोमा मङ्गलबार भएको खेलमा बाँसबारी क्लबलाई २–० गोलले हराउँदै प्लानिङले दुई खेल अगावै ‘ए’ डिभिजनको बाटो तय गरेको हो ।
प्लानिङ ब्वाइज पहिलो पटक शीर्ष डिभिजनमा उक्लिएको हो । प्लानिङ ब्वाइज तीन वर्षको छोटो दौरानमा ‘ए’ डिभिजनमा उक्लिएको हो । यसअघि प्लानिङ सन् २०२२ मा ‘सी’ बाट ‘बी’ डिभिजनमा बढुवा भएको थियो ।
जितसँगै ११ खेलबाट २७ अङ्क बनाएको प्लानिङ ब्वाइज तालिकाको शीर्षस्थानमा छ । अब बाँकी दुवै खेलमा पराजय भोगेपनि प्लानिङ शीर्ष दुईमा रहने छ । समान खेलबाट १५ अङ्क बनाएको बाँसबारी सातौँ स्थानमा झरेको छ ।
प्लानिङ ब्वाइजलाई जित दिलाउन पुजन थापाले ८१औँ मिनेटमा एक गोल गर्नुभयो । यसअघि प्लानिङले ४७औँ मिनेटमा बाँसबारीबाट आत्मघाती गोल उपहार पाएको थियो ।
यसअघि मङ्गलबार नै भएको अर्को खेलमा सरस्वती क्लबले वीरगन्ज युनाइटेड क्लबलाई ३–० गोलले पराजित गरेको थियो । टोलीका प्रभावशाली स्ट्राइकर धिरेन्द्रबहादुर शाहको प्रतिबन्ध फुकुवासहित तालिकामा थप तीन अङ्क जोडेर मैदानमा उत्रिएको सरस्वतीलाई जित दिलाउन धिरेन्द्रसहित ज्ञानेन्द्र जोशी र नरेशकुमार खत्रीले गोल गर्नुभएको थियो ।
जितसँगै ११ खेलबाट १५ अङ्क बनाएको सरस्वती आठौँ स्थानमा उक्लिएको छ । पराजित वीरगन्ज चौथो स्थानमा झरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । लिगको शीर्ष दुईमा रहने टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछन् । अन्तिमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् ।