अमरराज नहर्की
तनहुँ, वैशाख ३० गते । गर्मी छल्न तनहुँस्थित बन्दीपुरमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तराई तथा होचो स्थानमा उखरमौलो गर्मी बढीरहेको बेला बन्दीपुर चिसो हावा चल्ने र गर्मी नहुने भएकाले गर्मी छल्ने पर्यटकको रोजाईमा बन्दीपुर परेको हो ।
गर्मी बढेसँगै होटलहरु भरिभराउ हुन थालेको व्यवसायीहरूले बताएका छन् । धेरै जस्तो स्थानमा उखरमौलो गर्मीले अस्तव्यस्त भइरहेको बेला बन्दीपुर भने चिसो भएको मनोरम प्राकृतिक दृश्यावलोकन र चिसो हावापानीमा रमाउन आउनेहरूको सङ्ख्या बढेको बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष तथा बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैसबहादुर गुरुङले बताउनुभयो ।
बन्दीपुरका घरबास पनि पर्यटक खचाखच भएका छन् । यतिबेला बाह्यभन्दा आन्तरिक पर्यटकको भीड धेरै भएको बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँले जानकारी दिनुभयो । बानियाँले भन्नुभयो, ‘‘कुनै घर पनि खाली छैन, सबै भरिभराउ छ, यसले पर्यटन व्यवसायीलाई उत्साह थपेको छ ।’’ बन्दीपुरमा बाह्रैमहिना चिसो हावा चल्ने हुँदा राति सिरक ओडेर सुत्नु पर्ने भएकाले गर्मी छल्न पर्यटक आउने गरेको बानियाँ बताउनुहुन्छ ।
हातैले छोएजस्तो लाग्ने हिमशृङ्खलाहरु, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टाङ्ग आरोहणलगायतले पर्यटकलाई आकर्षण गर्ने गरेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बिचमा बन्दीपुर छ ।
पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ ।