• ३० वैशाख २०८२, मङ्गलबार

अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा

blog

विद्यालयको स्थलगत निरीक्षण एवम् अनुगमन गरिँदै । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ३० गते ।
सप्तरीको दुई वटा पालिकामा अनुमति नै नलिई आठ वटा विद्यालय सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनमा कञ्चनरुप नगरपालिकामा दुई वटा र हनुमाननगर कंकालिनी नगरपालिकामा छ वटा गरी आठ विद्यालय अनुमति बिना सञ्चालनमा रहेको पाइएको हो ।

उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति बिनाको थप कक्षा सञ्चालन नगर्न नगराउन वैशाख १९ मा आदेश दिएपछि समन्वय इकाईले यही वैशाख २८ बाट विद्यालयहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरिरहेको छ ।

स्थलगत निरीक्षणकै क्रममा मङ्गलबार कञ्चनरुप नगरपालिका पुगेका टोलीले दुईवटा विद्यालय अनुमतिभन्दा माथिल्लो तहको कक्षा सञ्चालन गरिरहेको पाएको हो ।

ब्राइट फ्युचर एकेडमीले ३ कक्षाको अनुमति लिएर ७ कक्षासम्म विद्यार्थी भर्ना गरी पठन पाठन गराई रहेको र माउन्ट एभ्रेष्ट विद्या मन्दिर ६ कक्षासम्मको अनुमति लिएर ८ कक्षासम्म सञ्चालन गरिरहेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिनुभयो ।

“कञ्चनरुपमा पूरै पालिका स्थलगत निरीक्षण गर्न बाँकी रहेको र अहिलेसम्मको निरीक्षणमा दुईवटा विद्यालय अनुमति पाएको भन्दा माथिल्लो तहसम्मको पठन पाठन सञ्चालन गरेको पाइयो” उहाँले भन्नुभयो ।

यसअघि आइतबार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा छ वटा निजी विद्यालयले अनुमति नलिएर कक्षा सञ्चालन गरेको पाइएको थियो ।

स्थलगत निरीक्षण तथा अनुगमन टोलीले हनुमाननगर बजार क्षेत्रका निजी तथा संस्थागत विद्यालयहरूको स्थलगत निरीक्षण गर्दा आधा दर्जन विद्यालय मापदण्ड विपरित अनुमति पाएको भन्दा माथिल्लो तहसम्मको कक्षा सञ्चालन गरेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिनुभयो ।

मापदण्ड विपरित सञ्चालनमा रहेको विद्यालयहरुमा शिक्षादीप बोडिङ स्कुलले कक्षा दुईसम्म अनुमति लिएर कक्षा पाँचसम्म पठनपाठन गराइरहेको, गौतम बुद्ध आइडियल स्कुलले पूर्व प्राथमिक तहको अनुमति लिएर कक्षा पाँचसम्म, ग्रीन ल्याण्ड एकेडेमीले कक्षा एक को अनुमति लिई कक्षा चारसम्म पठनपाठन गराइरहेको पाइएको छ ।

यस्तै, आन्नद प्राइभेट एजुकेसनल गुठीले कक्षा एकको अनुमति लिएर कक्षा आठसम्म, आरपी मेमोरियल स्कुलले कक्षा एक को अनुमति लिइ कक्षा सातसम्म तथा ब्राइट फ्युचर एकेडेमीले अनुमतिनै नलिएर कक्षा तीनसम्म पठनपाठन गराउँदै आएको शाखा अधिकृत यादवले बताउनुभयो ।

अनुमित नलिएर कक्षा सञ्चालन गर्दै आएको त्यस्ता विद्यालयहरुलाई अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिनुभयो ।

“कि त अनुमति लिनुस्, कि त कक्षा सञ्चालन बन्द गर्नुस्” भन्ने निर्देरशन दिएको उहाँले भन्नुभयो । “यो पहिलो चरणको अनुगमन हो, हामी दोस्रो चरणको अनुगमन पनि थाल्छौं, विधि प्रक्रिया नपुर्‍याए र अनुमति बिना सञ्चालनमा रहेका त्यस्ता विद्यालय उपर कानुनी कारबाही हुन्छ,” यादवले भन्नुभयो । 

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत यादव, नगरपालिकाको शिक्षा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शिवनाथ मण्डल र शाखा प्रमुख हरिनारायण साह  स्थलगत निरीक्षण तथा अनुगमनमा सहभागि हुनुहुन्थ्यो ।