• ३० वैशाख २०८२, मङ्गलबार

बाइस वर्षदेखि विद्यार्थीविहीन छात्रावास

blog

रलिङ समाचारदाता

रलिङ (हुम्ला), वैशाख ३० गते । दक्षिण क्षेत्रमा रहेको तत्कालीन चार वटा गाउँ विकास समितिको एक मात्र सूर्योदय माध्यमिक विद्यालय २०१७ मा तत्कालीन समयमा गाउँका मुखियासमेत रहेका प्रधानपञ्च तथा समाजसेवी दानबहादुर भण्डारीको पहलमा स्थापना भएको थियो । भौगोलिक हिसाबले निकै टाढा रहेको मैला, मदना र मुगु जिल्ला सोरू गाउँपालिकालगायतका ठाउँबाट विद्यार्थीलाई आउन गाह्रो भएपछि एउटा छात्रावासको स्थापना भएको थियो । विभिन्न निकायसँगको पहलमा २०५२ मा १२ कोठे छात्रावाससहित निर्माण भएको छात्रावासमा २०६० सम्म विद्यार्थी खचाखच हुन्थे । छात्रावासमा कोठा नपाएर बाहिर गाउँमा समेत बसेर अध्ययन गर्ने गर्दथे विद्यार्थी । 

तर त्यसबेलाको सशस्त्र द्वन्द्वमा छात्रावासबाटै धेरै जना विद्यार्थी पूर्णकालीन सदस्य भएर जाँदा खेरी अभिभावकले छात्रावासमा राख्न छोडे । त्यसपछि यो छात्रावासमा कहिल्यै पनि विद्यार्थी नफर्केको सो विद्यालयका पूर्वप्रधानाध्यापक हरिप्रसाद गोर्खालीले बताउनुभयो । यता लामो समय सूर्योदय माविमा अध्यापन गराई अहिले गृहजिल्ला सरुवा भई जानुभएका शिक्षक बुद्धिसागर शर्माले आफू त्यहाँ कार्यरत रहँदा विद्यार्थी निकै हुन्थे तर पछि मैलाको धर्मोदयमा र कालिकाको सल्लाघारी मावि सञ्चालनमा आएपछि छात्रावासमा ठप्प भएको बताउनुभयो । त्यसपछि विद्यार्थीले छात्रावासभन्दा गाउँमा बसेर अध्ययन गर्न थाले । 

त्यतिबेला सबैभन्दा धेरै विद्यार्थी मुगुको भिईबाट बस्ने गरेको अहिले जनकल्याण आधारभूत विद्यालयकी रमिता धामीको भनाइ छ । उहाँले विदेशी नागरिकले उक्त भवन बनाइसकेपछि अहिले त्यसको संरक्षण र पुनर्निर्माण नभएको बताउनुभयो । यसको पुनर्निर्माणमा कसैको पनि ध्यान नगएको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेको अदानचुली गाउँपालिका–२ का हिमबहादुर भण्डारीको भनाइ छ । अहिले मदनामा दुई वटा र मैलामा दुई वटा माध्यमिक विद्यालय छन् भने उता मुगुको भिईमा पनि एउटा माध्यमिक विद्यालय सञ्चालनमा रहेकाले सो छात्रावासमा बस्ने कुनै विद्यार्थी नहुँदा छात्रावास विद्यार्थीविहीन बन्न पुगेको छ ।