जयकृष्ण यादव
इनरुवा, बैशाख २९ गते । सुनसरीको कोशी गाउँपालिका –७ हरिपुरमा गुडिरहेको बस अनियन्त्रित भएर पल्टिँदा आठ जना घाइते भएका छन् । २० जना सवार बस सडकमा पल्टिँदा भएको दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सोमबार विहान सवारी दुर्घटना हुँदा पाँच वर्षीया बालिकासहित आठजना घाइते भएका हुन् ।
कोशी गाउँपालिका ७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा गाईघाटबाट झापातर्फ जादैगरेको प्रदेश–१–०२–००१ख९९३६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
प्रहरीले दिएको जानकारीअनुसार सुनसरीको कोशी गाउँपालिका –८ का महमद सहिलको ५ वर्षीय छोरा वानेस मियाँ, सोही ठाउँका २५ वर्षीया रुक्साना खातुन, सबरुम खातुन, निलम रामको निधार, दायाबाँया खुट्टामा चोट लागेको छ । त्यसैगरी इनरुवा नगरपालिका ९ का ४५ वर्षीय गुलाबचन्द्र मेहेता, बराहक्षेत्र ११ का २१ वर्षीय प्रमोद ऋषिदेव, कोशी गापा वडा ८ का हुसिय मन्सुरीको छोरा रहन मन्सुरी, छोरी वर्ष १.५ वर्षका रोना खातुन समेत घाइते हुनुभएको छ ।
सबैको हात, खुट्टा र टाउको, निधारमा चोट लागेको जनाएको छ । यसैबिच बसधनी सप्तरी कञ्चनरुप नगरपालिका –९ का ३५ वर्षीय बिन्देश्वरप्रसाद दासले घाइतेहरुको उपचारमा सहयोग रहनुभएको छ ।
इलाका प्रहरी कार्यालय भाण्टाबारीका प्रहरी बरिष्ठ नायव निरीक्षक पूण्य अधिकारीका अनुसार आठ जनालाई बढी चोट लागेको छ । उहाँहरुको उपचार अस्पतालमा भइरहेको छ ।