• १६ चैत २०८०, शुक्रबार

विज्ञान प्रविधि क्षेत्रमा नेपालको अवस्था सुधार्न आवश्यक

blog

गोरखापत्र अनलाइन 

काठमाडौ, कात्तिक २४ गते । विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालको अवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले अन्तर्राष्ट्रिय विज्ञान दिवसको अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘विज्ञान कूटनीति’ विषयक छलफल कार्यक्रममा विज्ञले सो कुरा बताउनुभएको हो । 

कार्यक्रममा चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौडेलले विज्ञानले दुई वा दुईभन्दा बढी देशबीच सूचना र सञ्चारको आदानप्रदान मात्र नगरेर संस्कार र संस्कृतिको पनि प्रचारप्रसार गर्ने बताउनुभयो । नेपालमा अझै पनि विज्ञानको क्षेत्रमा सोचेअनुरूप प्रगति नभएको उहाँको भनाइ छ । नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै काम गर्न अझै बाँकी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा विज्ञानको क्षेत्रमा धेरै कामहरू गर्न बाँकि नै छ । यसको क्षेत्रमा सरकारले पनि बजेट वृद्धि गर्नुपर्छ । कोरोना कहरका बेलामा पनि विज्ञान तथा प्रविधिले भ्रामक सूचनाहरूबाट नागरिकलाई बचाउन मद्दत गरेकाले यसप्रति मानिसको चासो अझ बढी रहेको छ ।” 

जेनेभाका लागि नेपालका पूर्व राजदूत दीपक धितालले विज्ञानमा गरेको लगानी दिगो समयसम्म हुने भएकाले यसमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको लगानी दिगो हुन्छ । यसकारण सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ । आजको आवश्यकता भनेको विज्ञान तथा प्रविधिको हो ।” 

यस्तै, ब्राजिलका लागि नेपालका पूर्व राजदूत प्रद्युम्नविक्रम शाहले नेपालका वैज्ञानिकहरू बाहिरी देशमा काम गर्न बाध्य भएकाले नेपालमा आएर काम गर्ने वातावरण सरकाले बनाउनुपर्ने बताउनुभयो । परराष्ट्र मन्त्रालयले बाहिर रहेका विशेष ज्ञान सीप भएका युवाहरूलाई देशभित्र ल्याउन सुरु गरेको ब्रेन गेन कार्यक्रम पनि त्यति फलदायी नभएको शाहको भनाइ छ ।  उहाँहरूलाई नेपाल भित्र्याउन सरकारले छुट्टैखालको नीति बनाउनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । यस्तै, उहाँले देशको सीमा रक्षाको विषयमा पनि विज्ञान प्रविधिको ठूलो महत्त्व रहेको बताउनुभयो ।