• १३ साउन २०८१, आइतबार

मतदानमा खटिन हेलिकोप्टरकाे माग

blog

हिउँ जमेको लिमी जाने बाटोमा पर्ने न्यालु क्षेत्र । तस्बिर – राजन रावत, हुम्ला

राजन रावत

हुम्ला, कात्तिक २४ गते । मङ्सिर ४ को निर्वाचनका लागि नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारीहरू हेलिकोप्टरबाट पुर्‍याउने  व्यवस्था गर्न माग गरिएको छ । 

लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि मतदानका लागि खटिएका कर्मचारी पैदल जान नसक्ने अवस्था देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत डिलप्रसाद सापकोटाले लिमीका तील, हल्जी र जाङ मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई हेलिकोप्टरबाट पु¥याउने व्यवस्था गर्न निर्वाचन आयोगलाई माग गरिएको बताउनुभयो ।

उहाँले गत असोजमा परेको बाक्लो हिमपात अहिले पनि नपग्लिएको कारण कर्मचारी पैदल मार्गबाट लिमी जान नसक्ने अवस्था सृजना नभएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको बताउनुभयो । 

लिमी जाने दुई वटा नाका चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ ।

उहाँले हिमपातले गर्दा कर्मचारी र निर्वाचन सामग्री तीन वटै मतदान केन्द्रमा पुर्‍याउनु  अन्य विकल्प नदेखिएपछि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

लिमीको एउटा मतदान केन्द्रका लागि मतदान र सहायक मतदान अधिकृत गरी सात जना कर्मचारी र आठ जना सुरक्षाकर्मी गरी जम्मा ४५ जना खटिनुभएको छ । 

लिमीका तीन मतदान केन्दमा जम्मा ५४१ मतदाता सङ्ख्या रहेको छ । हिमपातकै कारण लिमीमा मतदाता शिक्षा कार्यक्रम हालसम्म लागु हुन सकेको छैन भने दलका उम्मेदवारहरू पनि हालसम्म प्रचारका लागि जान सक्नु भएको छैन ।

दश दिन अघि लिमीका वडा अध्यक्ष पाल्जोर तामाङको चार जनाको टोली भने न्यालुुको हिउँ छिचोल्दै पाँच दिन लगाएर लिमी पुगेको थियो ।