• १६ भदौ २०८१, आइतबार

ताप्लेजुङमा सबै मतपत्र आइपुग्यो

blog

ताप्लेजुङ आइपुगेको मतपेटिका लगायत निर्वाचन सामग्री । तस्बिर – चन्द्र पन्दाक ।

 चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २३ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङलाई आवश्यक सबै मतपत्र आइपुगेको छ । उक्त निर्वाचनमा प्रयोग हुने प्रत्यक्ष तथा समानुपातिकतर्फको सबै मतपत्र ताप्लेजुङ आइपुगेको हो । 

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ समान ९८ हजार थानका दरले मतपत्र आएको छ । 

यस्तै, प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचनकाे लागि ९८ हजार थान मतपत्र आइपुगेको सहायक निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।

ताप्लेजुङमा ८८ हजार २८५ मतदाता कायम छन् ।

कुल मतदाता सङ्ख्यामध्ये प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ (क) मा ४८ हजार ७६१ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ (ख) मा ३९ हजार ५२४ मतदाता छन् । 

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले ताप्लेजुङमा मतपत्रसहित सबै निर्वाचन सामग्री आइपुगेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन सामग्री आइसकेपछि अब मतपत्र सटिङ गर्ने लगायतका कार्य सुरु हुनेछ ।

निर्वाचन सामग्री मतदानस्थल र केन्द्र अनुसार प्याकिङ गर्ने काम सुरु भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।