• १३ साउन २०८१, आइतबार

निर्वाचन सफल हुनु विकासको आधार हो : अध्यक्ष प्रचण्ड

blog

सल्यानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डलगायतका नेताहरु । तस्बिर – प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक २२ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गते हुने निर्वाचन अग्रगमन र प्रतिगमनबीचको महासमर भएको बताउनुभएको छ ।

उहाँले देशमा संविधान रक्षा गर्ने शक्तिको गठबन्धन र राजा फर्काउन चाहने प्रतिगामी शक्ति भएको गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन हुनु मुख्य कुरा हो । निर्वाचन सफल हुनु पनि विकासको आधार बन्छ, भन्नुभयो ।

प्रेस सेन्टर सल्यानले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले केपी ओलीले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधान मिच्नुका साथै व्यवस्थालाई ध्वस्त गर्न थालेपछि वाम लोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो  ‘केपी ओलीसहितको गठबन्धनमा चुनावी एजेन्डाविहीन रहेको छ । यसअघि जनताले बहुमत दिँदा पनि सरकार चलाउन छोडेर संसद् विघटन, संविधान मिच्ने काम गरेकाले बहुमत ल्याउँछौ भन्नु र चुनाव प्रचारमा हिँड्न सुहाउँदैन ।’  

नेपाली राजनीतिको मुख्य शक्ति माओवादी भएकाले यसअघि वाम गठबन्धन बनाउन होस् या अहिले वाम लोकतान्त्रिक गठबन्धन बनाउन माओवादी नै सूत्रधार भएको बताउनुभयो ।

प्रधानमन्त्रीका लागि गठबन्धनमा छलफल नभएको भए पनि जिम्मेवारी पूरा गर्ने तर प्रधानमन्त्री आफैँ हुनुपर्ने भनाइ छैन । आफूले यसअघि पाँच वर्षको प्रधानमन्त्री छोडेकाले प्रधानमन्त्रीका लागि कुनै विवाद नहुने बताउनुभयो ।निर्वाचन पछि गठबन्धनकै सङ्घ र प्रदेशमा सरकार बन्ने प्रचण्डको भनाइ छ । 

यसैबीच, प्रचण्डले जिल्लास्थित गठबन्धनका नेताहरुलेसँग चुनावी अवस्थाबारे जानकारी लिनुभएको छ । भेटमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेत, नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार सुरेश अधिकारी र नेकपा (एकीकृत समाजवादी) जिल्ला सचिव रमेश गौतमलगायतका नेताहरू सहभागी हुनुभएको थियो ।

मौसम खराबीका कारण सल्यान आईपुग्नुभएका उहाँ सल्यानमा पत्रकार र गठबन्धनका नेताहरू भेटपछि सुर्खेत भएर जुम्ला जानुभएको छ ।