• ११ मंसिर २०८१, मङ्गलबार

खुलेन कर्णाली करिडोरको बाजुरा–हुम्ला सडक खण्ड

blog

राजन रावत

हुम्ला, कात्तिक २१ गते । कर्णाली करिडोरको हुम्ला र बाजुरा खण्डको सडक एक महिनाभन्दा बढी समय हुँदा पनि  सुचारु भएको छैन । पहिरोले विभिन्न ठाउँमा अवरुद्ध भएको सडकको मर्मतकार्य हुन नसकेपछि हालसम्म सडक सुचारु हुन नसकेको हो ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले ३४ दिन हुँदासम्म पनि कर्णाली करिडोरको सडक सुचारु हुन नसकेको बताउनुभयो । हुम्ला र बाजुरा खण्डको करिडोरको तीसभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध गरेको तर हालसम्म मर्मत कार्य नभएपछि सडक सुचारु हुन नसकेको बताउनुभयो । बाजुरा र हुम्ला खण्डमा पर्ने करिब १४ स्थानमा माथिबाट खसेको ढुङ्गाले सडक पुरेको र भत्काएकाले मर्मतका लागि समय लाग्ने बताउनुभयो ।

सो सडकको जिम्मेवारी लिएको हिल्सा सिमकोट सडक आयोजनाले मर्मतकार्यका लागि थालनीसमेत गरेको छैन । अध्यक्ष जैशीले ताँजाकोट गाउँपालिकाले बरु आफ्नो क्षेत्रमा पर्ने कवाडीदेखि पित्तरसैनासम्मको सडकको मर्मतकार्य सम्पन्न गरेको भए पनि बाजुरामा मर्मतकार्य नभएका कारण यातायात सुचारु नभएको उहाँले बताउनुभयो । 

बाजुरामा गाउँपालिकाहरूले आफ्नो क्षेत्रमा पर्ने सडकको मर्मतकार्य सुरु गरेको बताएका छन् । यता हुम्ला खण्डकै पित्तरसैनादेखि तुम्चसम्मको अदानचुली गाउँपालिकाले मर्मतकार्य सुरु गरेको छैन । तुम्चदेखि सलीसल्लासम्मको भत्किएको सडकको मर्मतकार्य सर्केगार्ड गाउँपालिकाले सुरु गरेको छैन । आयोजनाले आफैँ मर्मतकार्य सुरु नगरेको र आफ्नो क्षेत्रमा पर्ने सबै गाउँपालिकाले मर्मतकार्य सुरु नगरेको कारण कहिले सडक सुचारु हुन नसकेको बताइएको छ ।

करिडोरको बाजुरा र हुम्लाको सिमाना कवाडीदेखि सलीसल्लासम्मको बाटोमा गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको वर्षाले पहिरो जाँदा सडक अवरुद्ध हुँदैआएको छ । यसलेगर्दा चङ्खेली गाउँपालिकाका यात्रु अज शाहीले सुर्खेतबाट अछाम हुँदै बाजुराको मार्तडीबाट कोल्टीसम्म गाडीमा र त्यस यता पैदल घर पुग्नुपरेको बताउनुभयो । कोल्टीबाट सातदेखि आठ घण्टा गाडीमा पुग्न सकिने सो दूरीमा दुई दिन पैदल हिँडेर घर पुग्नुपरेको उहाँले बताउनुभयो ।