• ३० वैशाख २०८२, मङ्गलबार

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ मा जलवायु असरकै चिन्ता

blog

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ३ पुथाङ एयरर्पोट सामुदायिक भवनमा आयोजित कार्यशाला । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ३० गते ।
नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को अवसरमा सदरमुकाम जोमसोममा आयोजित कार्यशाला गोष्ठीमा जलवायु परिवर्तनले मुस्ताङमा असर गरेको वक्ताहरूको भनाइ छ ।

मङ्गलबार बिहान घरपझोङ गाउँपालिका वडा नं ३ पुथाङ एयरर्पोट सामुदायिक भवनमा आयोजित कार्यक्रममा मुस्ताङमा जलवायु परिवर्तनले खानेपानीको मुहान सुक्दै जाँदा मानबस्ती नै विस्थापित, जलसम्पदा, कृषि, वन तथा जैविक विविधता, भौतिक संरचना र जनस्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पारिराखेको भन्दै विश्वको ध्यानार्कषण गराउनुपर्नेमा जोड दिइएको थियो ।

कार्यशाला गोष्ठीमा जलवायु परिवर्तनको मुख्य कारक नै मानवीय क्रियाकलाप भएकाले विश्वका शक्तीशाल राष्ट्रबाट क्षतिपूर्तीका लागि नेपालले दबाब दिनुपर्ने मुस्ताङका जनप्रतिनिधिको भनाइ छ । प्रदेशसभा सदस्य बिकल शेरचनले जलवायु परिवर्तनकै कारण प्राकृतिक विपत्तीले मुस्ताङमा ठुलो भौतिक क्षति समेत पुर्‍याएको बताउनुभयो । प्रदेशसभा सदस्य गौचनले भन्नुभयो, ‘‘बस्ती र पूर्वाधार झन् ठुलो जोखिममा छन्, अबको मुद्दा नै जलवायु परिवर्तनले निम्त्याएको बिनासमा केन्द्रित हुनुपर्छ ।’’

कार्यशाला गोष्ठीमा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचन, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालसहित नेपाल प्रेस यूनियनका पूर्व अध्यक्षसहित करिब डेढ सय जनाको उपस्थितिमा जलवायु परिवर्तनको असरबाट जोखिममा रहेका क्षेत्र र समुदायमा सचेतनामुलक अभियान, अन्तर्राष्ट्रिय मञ्चमा जोखिममा परेको नेपालको आवाज स्थापित गर्नुको विकल्प नभएको विषयमा वक्ताको एकमत रहेको नेपाल प्रेस यूनियन मुस्ताङका अध्यक्ष शुसिलबाबु थकालीले बताउनुभयो ।

कार्यशाला गोष्ठीमा नेपाल प्रेस यूनियनका अध्यक्ष शिव लम्सालले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को मुख्य उद्देश्य नै पत्रकारिता, जलवायु सङ्कट र न्यू मिडियाको प्रभावमा केन्द्रित भएको बताउनुभयो । शनिबार बिहान काठमाडौँमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम पोखरा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ अन्तरक्रिया र छलफलको कार्यतालिका रहेको छ । टोलीमा दक्षिण एसियाली विभिन्न देशहरूका पत्रकारसहित जलवायु विज्ञको समेत उपस्थिति रहेको यूनियनका महासचिव दिलिप पौडेलको भनाइ छ ।  समिटको लोमान्थाङको कोरलामा मङ्गलबार साँझ समापन गरिने छ ।