• ३० वैशाख २०८२, मङ्गलबार

मनसुनजन्य विपद् : ‘जोखिम सञ्चार’ नै चुनौतीपूर्ण

blog

काठमाडौँ, वैशाख ३० गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एक तथ्याङ्क अनुसार २०६८ वैशाखदेखि २०८१ चैत अन्तिमसम्म मनसुनजन्य विपदबाट २० खर्ब ४१ अर्ब ६६ लाख दुई हजार ४१५ रुपियाँ अनुमानित क्षति भएको छ । 

बाढी, पहिरो, भारी वर्षा, चट्याङ्गलगायतका मनसुनजन्य विपदबाट पछिल्लो १४ वर्षको सो अवधिमा चार हजार २७३ जनाको मृत्यु, एक हजार २७ बेपत्ता, पाँच हजार ८६० घाइते तथा एक लाख एक ५९५ घर प्रभावित भएको तथ्याङ्क छ । यसैगरी, १९ हजार ६८१ घरमा पूर्ण क्षति र ५३ हजार ९६९ घरमा आंशिक क्षति पुगेको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् प्रवक्ता रामबहादुर केसीका अनुसार यो वर्ष गत चैतबाट नै मनसुनजन्य विपद्को पूर्वतयारी सुरु भएको छ । यस क्रममा विपद् पूर्वतयारीको कार्ययोजना पारित हुने चरणमा रहेको उहाँको भनाइ छ ।  

प्रवक्ता केसीले भन्नुभयो, “त्यो कार्ययोजना हामीले चैतबाट सुरु गरेका छौं । कार्यदल बनेर विभिन्न चरणमा छलफल हुन्छ र केही दिनमा अन्तिम चरणमा पुग्छ । त्यसलगत्तै, कार्यकारी समितिले गृहमन्त्रीज्युको अध्यक्षतामा बैठक बसेर पारित भएपछि त्यो लागु हुन्छ ।”

उहाँले विपद्को पूर्वतयारी विपद् आउनै नदिन के गर्ने ? आइसकेपछि कसरी उद्वार गर्ने ? भन्ने दुई चरणमा हुने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पूर्वतयारी भनेको जस्तो सुरक्षा निकायहरू छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, रेडक्रसलगायतका विभिन्न स्वयम्सेवक परिचालन गर्ने निकाय र प्रणाली छ । त्यसलाई तयारी अवस्थामा राखेको छ । आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, मनसुन आउनभन्दा एक महिना अगाडि नै कमान्ड पोस्ट स्थापना गर्छौं । कमान्ड पोस्टको नेतृत्व कार्यकारी प्रमुखले गर्नुहुन्छ ।”

उहाँले खोज तथा राहत लगायतका कार्य प्रभावकारी बनाउन कमान्ड पोस्टको अवधारणा स्थापना भएको बताउनुभयो । 

प्राधिकरणको तथ्याङ्क अनुसार मनसुनजन्य विपदबाट २०७६ मा एक अर्ब ४९ करोड ६ लाख ५१ हजार ६४९ रुपियाँ, २०७७ मा १७ करोड ६९ लाख ७१ हजार ५३० रुपियाँ, २०७८ मा ३० करोड ६ लाख ५२ हजार ४५० रुपियाँ,  २०७९ मा १५ करोड ७० लाख ६ हजार ३७५ रुपियाँ, २०८० मा ३४ करोड ७० लाख ७९ हजार २०० र २०८१ मा ७४ करोड ४५ लाख ९२ हजार ९७५ रुपियाँ अनुमानित क्षति भएको छ ।

यसैगरी, पछिल्लो ६ वर्षमा मनसुनजन्य विपद्बाट मृत्यु हुनेको सङ्ख्या २०७६ मा २५३, २०७७ मा ४२८, २०७८ मा ३२३, २०७९ मा २०७, २०८० मा ११४ र २०८१ मा ५३५ रहेको छ । यस्तै, सोही अवधि (२०७६ देखि २०८१) मा क्रमशः ३८, १०१, ६८, ३२, ३० र ६६ बेपत्ता रहेका छन् ।

उहाँले प्रारम्भिक चेतावनी प्रणाली (अर्ली वार्निङ सिस्टम) देखि प्रविधिक पक्ष, आपतकालीन गोदामघरहरू तयारी अवस्थामा हुने बताउनुभयो । यस्तो बेलामा सञ्चार एवम् मिडियाको भूमिका पनि महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “मनसुनको बेलामा मिडियाको पूर्व तयारीको लागि के गर्ने ? विपद् आइसकेपछि कसरी सूचना सम्प्रेषण गर्ने ? बस्ती स्थानान्तरण गर्नपर्ने भयो, हट्नपर्ने भयो र अन्यत्र सुरक्षित ठाउँमा जानपर्ने भयो भने त सबैभन्दा पहिला सूचना चाहियो । सूचना नै भएन भने मान्छेहरू सुरक्षित ठाउँमा जान सक्दैनन् । यस्तो अवस्थामा सामाजिक सञ्जालदेखि मुख्य मिडिया सबैको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसार गृहमन्त्रीको अध्यक्षतामा सङ्घीय मामिला मन्त्री, स्वास्थ्य मन्त्रीसहित सबै मन्त्रालयका सचिव, विज्ञ सदस्यहरु रहेको कार्यकारी समितिबाट विपद् पूर्वतयारीसम्बन्धी कार्ययोजना पास हुनुपर्ने व्यवस्था छ । आउँदो जेठ ७ गते जल तथा मौसम विज्ञान विभागको मनसुनको पूर्वानुमान आउने छ ।

उहाँले भन्नुभयो, “मनसुन भनेको जेठको मध्ये अथवा अन्तिमतिर सुरु हुन्छ । त्यो भएको हुनाले हामी ढिला छैनौं । पूर्व तयारी पहिलेदेखि गरिरहेका छौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान जेठ ७ गते आउँछ ।”

अभ्यासमै छैन ‘जोखिम सञ्चार’– डा. दाहाल

भू–गर्भ विभाग, त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. रञ्जनकुमार दाहाल हालसम्म विपद्को आपतकालीन समयमा ‘जोखिम सञ्चार’ (रिस्क कम्युनिकेसन) एकदम कमजोर भएको र अभ्यासमै ल्याउन नसकेको बताउनुहुन्छ । 

डा. दाहालले भन्नुभयो, “हामीले रिस्क कम्युनिकेसन अहिलेसम्म अभ्यासमा ल्याउनै सकेको छैन । हाम्रो ‘जोखिम सञ्चार’ एकदमै कमजोर छ । त्यसको विज्ञान फरक हुन्छ । सबै जना मिलेर इन्टिग्रेट एप्रोचमा काम गर्नुपर्ने हुन्छ ।”

जब आपतविपद् पर्छ तब, घन्टी, साइरन बजाउने, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय लगायतबाट सूचना जारी गरेर मात्रै पर्याप्त नहुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “सिडिओ कार्यालय, प्रहरी कार्यालयबाट सूचना जारी गरेर मात्रै हुँदैन । त्यो सही तरिकाले कार्यान्वयन भयो कि भएन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जनताका आफ्ना समस्या हजारौं हुन्छन् । यस्तो हुन्छ भन्दैमा जनताले त्यस्तो कुरा मान्दैन नि । सम्झाउन, बुझाउन सक्नुपर्‍यो । उसलाई हुनसक्ने क्षतिको व्यवस्थापन गरिदिन सक्नुपर्‍यो । अनि पो, जनताले तपाईंले भनेको कुरा सुन्छन् ।”

उहाँले यो वर्ष मनसुनका लागि तयारी कम भएकोले पहिलाको भन्दा बढी क्षति बेहोर्नुपर्ने अवस्था देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “काठमाडौँ आउने सडकहरू विशेषगरी, मुग्लिन–काठमाडौँ, मुग्लिन–नारायणघाट र बुटवल–नारायणघाट सम्हाल्नै नसकिने अवस्थामा पुग्छौं । पिच निर्माण, सबै सडक फराकिलो पार्न लागेका छौँ । विपी हाइवेमा अस्ति बगेको ठाउँहरू बनाउन सकेका छैनौं । हामी धेरै नै चलाख हुनुपर्ने छ ।”

उहाँले मनसुनको समस्यासँग लड्नका लागि पहिरो जान सक्ने सम्भावित सडकमा सुरक्षा अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्तिमा पहिरो जाने सडक छन् भने धेरै पानी परेको बेलामा सडक बन्द गराउने, यात्रा गर्न नदिने । अर्को महत्त्वपूर्ण कुरा भनेको सडकको पहिरो खोल्नका लागि तयारी गरेर बस्नुपर्‍यो । बस्तीहरूमा धेरैजसो कहाँनिर पहिरो जान्छ, हामीले पहिचान गरेर पालिका तहमा अगाडि बढ्नुपर्‍यो । कुन ठाउँमा बढी पानी पर्‍यो भने त्यहाँको पहिरो, बाढीको जोखिम कस्तो हुन्छ भनेर आँकलन गर्न एकदमै जरुरी भएको छ । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ, कम्तिमा यसबाट नियमित चेतावनीको कुराहरू पाइरहनुपर्‍यो ।”

पहिरो आउने क्षेत्रमा कम्तिमा एक हप्तादेखि तयारी अवस्थामा रहनुपर्ने उहाँको सुझाव छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।