• १६ वैशाख २०८१, आइतबार

मंगलबार अमेरिकामा मध्यान्तर निर्वाचन हुँदै

blog

हात्ती (रिपब्लिकन) र गधा (डेमोक्रेट) को प्रतिस्पर्धा

नर्थ क्यारोलिना, अमेरिका, कात्तिक २१ गते । यही मंगलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ । 

यो निर्वाचनमा तल्लो सदन हाउसका सबै ४३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ स्थानमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा ३४ जना गभर्नरलगायत स्टेटका अन्य थुप्रै पदमा पनि तँछाडमछाड छ । 

अमेरिकी नागरिकले यो निर्वाचनलाई निकै महत्त्व दिएका छन् । अमेरिकी इतिहासमा मध्यावधि निर्वाचनमा विरलै मात्र राष्ट्रपतिको सत्तासीन पार्टीले विजय हात पारेको छ । त्यसैले पनि यो निर्वाचनमा रिपब्लिकन पार्टीको वर्चस्व रहने कुरामा राजनीतिक पण्डितहरूको टिप्पणी र आङ्कलन रहेको छ । तथापि, दुवै पार्टीले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले विजय हात पार्ने कुरामा जोड दिइरहेका छन् । 

अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियान र र्‍यालीमा सहभागी हुन र मतदाताहरूलाई डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई जिताउन देश दौडाहामा हुनुहुन्छ भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताएर अमेरिकी राजनीतिको चाबी आफूमा रहेको प्रमाणित गर्न लागि पर्नुभएको छ । 

यो निर्वाचनमा अमेरिकी मतदाताहरू मुद्रास्फीति भएको र ग्यास (पेट्रोल) निकै महँगोमा किन्नुपर्ने भएकाले  भड्किएका छन् र वाइडेनको पक्षइतरमा मतजाने सम्भावना व्यक्त गरेका छन् र विगतका यस्ता मध्यावधि निर्वाचनमा राष्ट्रपतिको पार्टीका उम्मेदवारहरूले पराजय व्यहोरेका छन् । 

सन् १९४५ पछि भएका १९ वटा मध्यावधि निर्वाचनमध्ये हाउसमा १७ वटामा सत्तासीन पार्टीले पराजय व्यहोरेको छ भने सिनेटमा १९ मध्ये १३ मा हार व्यहोरेको छ । अहिले माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीको ४८, दुई जना स्वतन्त्र र ५० जना रिपब्लिकन पार्टीका सिनेटर छन् ।

दुई जना स्वतन्त्रले जुन कुनै विषयमा पनि डेमोक्रेटिक पार्टीको पक्षमा आफ्नो मत जाहेर गर्दै आएकाले अहिले दुवै पार्टीका सिनेटर ५०, ५० छन् र आवश्यक परेको बखतमा उपराष्ट्रपतिले निर्णायक मत दिन पाउने प्रावधानले गर्दा डेमोक्रेटिक पार्टीको पल्ला भारी छ । 

उता, तल्लो सदन हाउसमा पनि डेमोक्रेटिक पार्टीका २२० र रिपब्लिकन पार्टीका २१२ सदस्य छन् भने तीन वटा खाली छ । मंगलबारको निर्वाचनले यी सबै स्थानको निर्क्योल गर्नेछ । रिपब्लिकन पार्टीलाई हाउसमा कब्जा जमाउन पाँच स्थान र सिनेटमा एक स्थान मात्र उक्लन सक्यो भने वर्तमान राष्ट्रपति वाइडेनले प्रयोग गर्ने सम्पूर्ण अधिकार छिनिनेछ । 

यस अघि नोभेम्बर ५ तारिख शनिबारसम्म प्रदान गरिएको दुई हप्ताको समयमा करिब २० प्रतिशत मतदाताले मतदानस्थलमा स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरेर आफ्नो मत अभिव्यक्त गरिसकेका छन् । यो निर्वाचनको अन्तिम मत परिणाम आउन करिब एक महिना लाग्ने बताइए पनि कुन पार्टीले कस्तो परिणाम ल्यायो भनेर केही दिनमा नै छिनोफानो हुनेछ ।

अहिले अलास्का, अलावामा, अर्कान्सस, आइडाहो, इण्डियाना, कन्सास, केन्टुकी, लुजियाना, मिजोरी, नर्थ डाकोटा र आयोवा, ओक्लोहामा, ओक्लोहामा -विशेष_, साउथ डाकोटा र साउथ क्योरोलिना गरी १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व रहँदै आएको छ र यो निर्वाचनमा पनि उनीहरूको उम्मेदवारहरूले विजय हात पार्ने लगभग पक्का छ । उता, क्यालिफोर्निया, कनेक्टिकट, हवाई, इलिनोई, मेरिल्यान्ड, न्यूयोर्क, भर्मन्ट र ओेरेगन गरी आठ वटा राज्यमा डेमोक्रेटिक पार्टीको पक्षमा मत जाने पक्का छ । 

यसैबीच, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार हुने लगभग तय भएको छ । उहाँ निकट स्रोतका अनुसार, ट्रम्पले मध्यान्तर निर्वाचनकै दिन नोभेम्वर ८ मा राष्ट्रपतिको उम्मेदवार हुने घोषणा गर्नुहुनेछ । यो समाचारको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

एरिजोना, कोलोराडो, न्यूह्याम्पसायर र वासिङ्टन गरी चारवटा राज्य डेमोक्रेटिक पार्टीको पक्षमा जाने सम्भावना प्रबल छ भने फ्लोरिडा, नर्थ क्यारोलिना, ओहायो, युटाहा र विस्कन्सिन रिपब्लिकनको पक्षमा जाने सम्भावना प्रबल छ । राजनीतिक विश्लेषक तथा स्वतन्त्र सर्वेक्षणमा नेभाडा, जर्जिया र पेन्सिलभेनिया राज्यमा कडा प्रतिस्पर्धा हुनेछ भनेर औँल्याएको छ । यी तीन राज्यको मत गणनामा धेरै दिन लाग्नसक्ने भएकाले पनि परिणाम ढिला आउनसक्ने सम्भावना पत्रपत्रिकाहरूले औँल्याएका छन् । 

राष्ट्रपति वाइडेनले मतदाताहरूलाई मत हाल्नका लागि घरबाट बाहिर निस्कन र प्रजातन्त्र जोगाउन आव्हान गर्दै यो निर्वाचनमा दुवै सदनमा बहुमत आउने दाबी गर्नुभएको छ । उता, रिपब्लिकन पार्टीका उम्मेदवारहरूले वाइडेनले अमेरिकालाई झन् जर्र्जर बनाएको र महँगी बढाएको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पले चुनावी सभामा विपक्षीको बढ्दो आतङ्क रोक्न आव्हान गर्नुभएको छ । फाइव थर्टीएट भन्ने स्वतन्त्र निकायले गरेको निर्वाचन सर्वेक्षणमा रिपब्लिकनले एक सयमध्ये ७४ स्थानमा विजय हात पार्ने कुरा बताएको छ भने इकोनोमिष्टले गरेको सर्वेक्षणमा भने डेमोक्रेटिक पार्टीले एक सयमध्ये ६९ स्थानमा विजय हात पार्ने प्रक्षेपण गरेका छन् । धेरैजसो स्वतन्त्र सर्वेक्षणले भने रिपब्लिकनको पल्ला भारी हुने देखाएका छन् ।

यो निर्वाचनमा उम्मेदवारहरूले खासगरी भ्रूणहत्या, आप्रवासी नीति, अर्थतन्त्र, बन्दुक नियन्त्रण र रुस–युक्रेन युद्धजस्ता विविध विषयमा आफ्नो मत जाहेर गरेर मत मागिरहेका छन् । 

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।