• १३ साउन २०८१, आइतबार

नमुना मतदानमा अलमलिए मतदाता

blog

सल्यान समाचारदाता

सल्यान, कात्तिक २१ गते । नमुना मतदानमा सहभागी मतदाता मतपत्रका कारण अलमलिएका छन् । चारवटा मतपत्रमा मतदान गर्नुपर्छ भनेर जानकारी दिई मतपत्र दिइएका मतदाताले पहिलो मतपत्रमा नै चारवटा चिह्नमा छाप लगाएको पाइएको छ । 

निर्वाचन कार्यालय सल्यानले शारदा नगरपालिका–२ खलङ्गामा गराएको नमुना मतदानमा सहभागीमध्ये बढी सङ्ख्यामा म्यादी प्रहरीले मतदान गरेका थिए । फरक फरक क्षेत्रको प्रतिनिधित्व गरेका म्यादी प्रहरीले मतदान गरेका मतपत्र बदर भएपछि नमुना मतदानमा मतदाता धेरै अलमलिन सक्ने आकलन गरिएको छ ।

सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नमुना मतदानमा देखिएको बदर मतले मतदाता अलमलिएको हुनाले यसतर्फ चुनावी प्रतिस्पर्धामा सहभागी दल र उम्मेदवारले चुनाव चिह्नमा मात्र नभएर मत सदर कसरी गर्ने भन्नेबारेमा शिक्षा दिनुपर्ने बताउनुभयो ।

दलहरूले चुनावका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनीहरूले मतदातासँग चुनावी एजेन्डा बताएर मत मागे पनि कसरी सही तरिकाले मतदान गर्न सकिन्छ भनेर मतदातालाई शिक्षा नदिइएको पाइएका उहाँले उल्लेख गर्नुभयो । नमुना मतदानमा सहभागी कैयौँले एउटै मतपत्रमा चार ठाउँमा छाप लगाउने, ल्याप्चे लगाउनेजस्ता कार्य गरेको पाइएको छ । बदर मत घटाउन चुनावी अभियानमा रहेका दल र उम्मेदवारले सही ढङ्गले मतदान गर्न मतदातालाई सिकाउनुपर्ने आवश्यकता रहेको सहभागीहरूले जनाएका छन् । 

सिद्धकुमाख गाउँपालिका, ढोडचौरमा आयोजना गरिएको नमुना मतदानमा पनि मत बदर भएको छ । सिद्धकुमाख गाउँपालिका–३ का धर्मराज घर्तीले मतदाता शिक्षाको अभाव देखिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधि छनोट गरेझैँ नमुना मतदानमा पनि पाइएको छ । 

दार्मामा भएको नमुना मतदानमा प्रतिनिधि सभा समानुपातिकतर्फ ६.४ प्रतिशत मत बदर भएको छ । दार्माका ३२ जना स्थायी र छ जना अस्थायी मतदाताले मतदान गर्दा ६.४ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान गरेकामध्ये बागचौर नगरपालिकामा एउटा मत बदर भएको छ । सबैभन्दा धेरै शारदा नगरपालिकामा २३ मत बदर भएका छन् । यस्तै ६७ मतदाताले नमुना मतदान गरेकामा ४४ मत मात्र सदर भएको छ । बाँकी २३ मत बदर भएका छन् । यस पटक प्रत्येक मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । पहिलो मतपत्रमा प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गरिसकेपछि प्रतिनिधि सभाकै समानुपातिकतर्फका उम्मेदवारका लागि, त्यसपछि तेस्रो मतपत्रमा प्रदेश सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारलाई र चौथो मतपत्रमा प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारलाई मतदान गर्नुपर्नेछ । जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दले मतदाताहरू अलमलिएको बताउनुभयो । उहाँका अनुसार मतदातामा चार पटक मतदान गर्नु भन्ने प्रचार भएर होला एउटै मतपत्रमा चारवटा चिह्नमा छाप लगाउँदा बदर प्रतिशत धेरै देखिएको हो ।

मतदाताले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेश सभातर्फ पनि त्यसरी नै अलग/अलग दुईवटा मतपत्रमा मत हाल्नुपर्ने भएकाले पनि नयाँ मतदातालाई भोट कसरी हाल्ने, भोट हालेपछि मतपत्र कसरी पट्याउनेलगायतका विषयमा सिकाउने काम गर्नुपर्ने नमुना मतदानमा बताइएको छ ।

सल्यानका १० वटै पालिकामा नमुना मतदान र ८३ वटै वडामा महिला स्वयंसेविकाले घरदैलो अभियान गरी मतदान शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । आसन्न मङ्सिर १ गतेसम्म प्रत्येक पालिकाको वडामा चयन गरिएका महिला स्वास्थ्य स्वयंसेविकाले १५ दिन स्थानीयको घरदैलोमा गएर मतदाता शिक्षा सञ्चालन गर्नेछन् ।

सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता छन् । जसअन्तर्गत पुरुष मतदाता ८० हजार २१२ रहेका छन् भने महिला मतदाता ७७ हजार ४८९ रहेका छन् । सङ्घीय निर्वाचन क्षेत्र एकमात्रै रहेको सल्यानमा प्रदेश सभा क्षेत्र नम्बर १ मा ७८ हजार ६६८ र प्रदेश सभा क्षेत्र नम्बर २ मा ७९ हजार ३३ मतदाता छन् । यस्तै जिल्लाभर ११७ मतदान स्थल र २०२ मतदान केन्द्र रहेका छन् । 

सल्यानका चारवटा पालिकामा नमुना मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी दार्मा, शिद्धकुमाख गाउँपालिका, बागचौर नगरपालिका र शारदा नगरपालिका नमुुना मतदान भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा १० स्थानमा नमुना मतदान सञ्चालन गरिने जनाइएको छ ।