• १२ साउन २०८१, शनिबार

अवैध संरचना भत्काउँदै झापाको कनकाई नगर

blog

कनकाई नगरपलिका ३ सुरुङ्गा बजार क्षेत्रमा बनेका अवैध संरचना भत्काउँदै नगरपालिकाको डोजर ।

लीलाराज झापाली

विर्तामोड, कार्तिक २० गते। कनकाई नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने अवैध घर तथा टहरा भत्काउन सुरु गरेको छ। नगरपालिकाले ३५ दिने सूचना निकालेर कनकाई नगरपालिका -३ सुरुङ्गा बजार क्षेत्रमा लामो समयदेखि बाटोको साइटमा बनेका घर डोजर लगाएर भत्काइएको हो। 

नगरपालिकाले दुई वर्षसम्म हटाउन ताकेता गर्दा पनि नहटाएपछि आफूहरूले बाध्य भएर डोजर लगाएर घर भत्काउनु परेको प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो।

घर भत्काउँदा घरमा रहेका बैङ्क तथा व्यावसायिक पसल र बैङ्कको एटिएम मेसिनलाई समेत खाली गर्न लगाएर घर भत्काइएको थियो। यो अभियान बाटोमा बनेका सबै अवैध संरचना नहटुन्जेलसम्म जारी रहने नगरप्रमुख पोखरेलले बताउनुभयो। 

यसअगाडि सडकमा परेका घर भत्काउन नगरपालिकाले सूचना जारी गरेपनि घरधनी अदालतमा गएपछि केही दिन काममा ढिलाइ भएको नगरपालिकाको भनाइ छ। सडकमा पर्ने घर नहटाउँदा सुरुङ्गादेखि झापा गाउँपालिका जोड्ने २४ किलोमिटर सडक कालोपत्रेको काम समेत अलपत्र परेको थियो। 

निर्वाचनको मुखमा लोकप्रियता हासिल गर्न सडक छेउको घर भत्काइएको भन्दै घरधनी र पसल व्यवसायीले विरोध गरेका छन्। 

यता निर्वाचन कार्यालयले निर्वाचनको काम गर्ने र नगरपालिकाले आफ्नो काम नियमित गर्ने भन्दै नगरप्रमुख पोखरेलले भने निर्वाचन र घर भत्किनुमा कुनै सम्बन्ध नरहेको बताउनुभयो छ। नगरपालिकाले घर भत्काउँदा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।