चन्द्र पन्दाक
ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको विपद् प्रभावित क्षेत्रको पहिचान गर्दै जिल्लाका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । बाढी पहिरोको उच्च र मध्यम जोखिम क्षेत्रका पहिचान गरी सतर्क र सुरक्षित रहनका लागि पूर्वतयारी गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ ।
विपद् प्रभावित क्षेत्रको पहिचान गरिएसँगै सतर्कता अपनाउन विपद् प्रतिकार्य योजना बनाएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार विपद् प्रतिकार्य योजना कार्यान्वयनका लागि प्रत्येक स्थानीय तह अर्थात विपद् प्रभावित क्षेत्रमा खटिने गरी प्रतिकार्य टोली निर्माण गरिएको छ । सबै स्थानीय तह समेटिने गरी उपलब्ध उपकरणसहित प्रतिकार्य टोली गठन गरिएको र आवश्यक पर्दा तत्काल परिचालन हुने प्रजिअ शर्माले बताउनुभयो ।
उहाँकाअनुसार बर्खा मौसमसँगै बाढी पहिरोको जोखिमबाट जोगिनका लागि विपद् प्रतिकार्य आपतकालीन कार्य योजना र उपलब्ध उपकरणसहित क्युआरटी परिचालन योजना गत सोमबार स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । विपद् प्रतिकार्य आपतकालीन कार्ययोजना तथा उपकरणसहित प्रतिकार्य टोली परिचालन योजना कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रमा खट्ने टोली निर्माण गरिएको छ । मानवीय तथा भौतिक क्षतिको नियन्त्रण र न्यूनीकरण गर्न विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गरिने प्रजिअ शर्माको भनाइ छ ।
यता जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका वडाहरुमा सिरिजङ्घा गाउँपालिकाका सबै आठ वटै वडा छन् । वडा नम्बर १ सिनाम, वडा २ आम्बेगुदिन, ३ सिकैँचा, ४ तेल्लोक, ५ पेदाङ, ६ मामाङ्खे, ७ खेबाङ र वडा ८ याम्फुदिन पहिरोको जोखिममा रहेका छन् । त्यस्तै सिदिङ्वा गाउँपालिकाका वडा १ कालिखोला, २ सादेवा, ३ आङ्खोप, ४ साब्लाखु, ५ लिम्बुदिन, ६ मेहेले र वडा ७ सुरुम्खिम गरी सबै सात वटै वडाहरु बाढीपहिरोको जोखिममा रहेका छन् ।
फक्ताङ्लुङ गाउँपालिकाकाको सातमध्ये वडा नम्बर १ सावादिन, २ खेजेनिम, ३ लिङ्खिम र वडा ५ तापेथोक गरी चार वटा वडा बाढी पहिरोको उच्च जोखिममा छन् । मेरिङ्देन गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर १ थिङ्लाबु, २ सान्थाक्रा, वडा ३ खाम्लुङ र ४ लिङ्तेप पनि बाढी पहिरोको उच्च जोखिममा रहेको छ । यस्तै मैवाखोला गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर ४ साँघु उच्च जोखिममा रहेको छ ।
आठराई त्रिबेणी गाउँपालिकाका पाँचमध्ये वडा नम्बर १ निघुरादिन, २ फुलबार र वडा ५ चाँगे बाढी पहिरोको उच्च जोखिममा रहेको छ । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको छमध्ये वडा नम्बर १ नाङ्खोल्याङ र वडा ६ थेम्बेदिन बाढी पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला सदरमकामस्थित फुङ्लिङ नगरपालिकाका ११ मध्ये छ वटा वडा बाढी पहिरोको उच्च जोखिममा छन् ।
यसैगरी, फक्ताङ्लुङ गाउँपालिकाको तीन वटा वडा, मेरिङ्देन गाउँपालिकाको दुई वटा वडा, फुङ्लिङ नगरपालिकाका तीन वटा वडा बाढी पहिरोको मध्यम जोखिममा छन् । त्यस्तै मैवाखोला गाउँपालिकाको पाँचवटा वडा, आठारई त्रिबेणी तथा पाथीभरा याङ्वरक गाउँपालिकाका दुई–दुई वटा र मिक्वाखोला गाउँपालिकाको एउटा वडा बाढी पहिरोको मध्यम जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले औंल्याएको छ । जिल्लाका बाँकी तीनवटा वडा भने उच्च र मध्यम जोखिम दुवै क्षेत्रमा परेका छन् ।
भिरालो भू–बनावट रहेको जिल्लामा सडक निर्माण, जलविद्युत आयोजना निर्माण, रुख फँडानी लगायतका कारणबाट बाढी पहिरोको जोखिम बढेको बताइएको छ । बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सम्बन्धित स्थानीय तहले जोखिम नियन्त्रण र न्युनीकरण गर्न तटबन्ध निर्माणसहित बस्ती व्यवस्थापन लगायतका कार्य भने गर्दै आएको उल्लेख गरेका छन् । जोखिम नियन्त्रण र न्यूनीकरणका लागि कामहरु हुँदै आए पनि अचानक आइलाग्ने र सम्भावित विपत्तीमा पर्याप्त नहुने सरोकारवालाले बताएका छन् ।