• २८ असार २०८२, शनिबार

स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ

blog

उर्लाबारी समाचारदाता 

उर्लाबारी, असार २७ गते । मोरङको लेटाङ–२, पैँतिसबिघेमा निर्माणाधीन नेपालकै पहिलो स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । सबस्टेसन बनेपछि उत्तरी मोरङमा भोल्टेज नपुगेको समस्या स्थायी रूपमा समाधान हुने आस गरिएको थियो तर २०८१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने यो आयोजनाको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजीवकुमार सिंहका अनुसार यो सबस्टेसन छ/आठ एमभिए क्षमताको हुने छ । उहाँका अनुसार आठ करोड ३९ लाख ४३ हजार १०४ रुपियाँमा जयदुर्गे निर्माण सेवाले सबस्टेसन निर्माणको काम गरिरहेको छ । यसका अतिरिक्त ट्रान्समिसन लाइनको काम पनि भइरहेको छ । उक्त काम सोहन कन्स्ट्रक्सनले गरिरहेको छ । दुवै आयोजनाको कुल लागत करिब १७ करोड रुपियाँ हो । २०८० माघ ६ गते काम सुरु गर्दा दुवै काम निर्माण कम्पनीले २०८१ मङ्सिरमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो तर निर्धारित समयमा काम नसकिएपछि २०८२ कात्तिक ६ सम्मका लागि म्याद थप भएको छ । 

केरौन चोकबाट लेटाङको सबस्टेसन निर्माण हुने स्थानसम्मको १८ किलोमिटर क्षेत्रमा छ÷आठ एमभिए विद्युत् प्रसारण गर्ने पोल गाड्ने काम सकिएको छ । तारसमेत टाँगिसकेको भए पनि हावाहुरीले विभिन्न स्थानमा पोल ढलाएर तार भुइँमा लत्रिरहेका छन् । कार्यालय प्रमुख सिंहले भन्नुभयो, “हालसम्म सबस्टेसन चालु भएको छैन । चालु हुनुअघि सबै मर्मत हुन्छ । निर्माण कम्पनीले काम सम्पन्न गरेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि मात्र मर्मतको दायित्व प्राधिकरणमा आउँछ ।” निर्माणाधीन अवस्थाको जिम्मा प्राधिकरणले नलिने उहाँको भनाइ छ । 

निर्माण कम्पनी जयदुर्गे निर्माण सेवाका साइट इन्चार्ज इन्जिनियर ईश्वरबहादुर भण्डारीले नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर ल्याइदिनासाथ कम्पनीले जडान गर्ने बताउनुभयो । उहाँले नेपालमै पहिलो मानवरहित सबस्टेसन भएकाले कतिपय प्राविधिक विषयका विज्ञ भारतबाट ल्याउनु परेकाले समयमा काम सम्पन्न गर्न नसकिएको बताउनुभयो । यता लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले उत्तरी मोरङमा विद्युत्को भोल्टेज कम हुने समस्या अन्त्य गर्न यो आयोजना छिट्टै बनिसक्नुपर्ने बताउनुभयो ।