• १२ मंसिर २०८१, बुधबार

फरक क्षमता भएकालाई नमुना मतदान

blog

–वीरेन्द्रनगरमा फरक क्षमता भएका व्यक्तिहरुको नमुना मतदान प्रक्रियामा सहभागीहरु ।

नवीन सुवेदी 

सुर्खेत, कात्तिक २० गते । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा सुरु गरिएको छ । निर्वाचन आयोगले स्थानीय तहसँगको समन्वयमा शुक्रबारदेखि मतदाता शिक्षासँगै नमुना मतदान कार्यको आरम्भ गरेको हो । 

विगतका निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढेपछि यो पटक मत बदर हुनबाट रोक्न मतदाताहरूको घर आँगनमै पुगेर मतदाता शिक्षा दिन थालिएको आयोगले जनाएको छ । 

नेपाल नेत्रहीन युवा सङ्घ, नेपालको आयोजनामा सुर्खेत वीरेन्द्रनगर – ८ स्थित शिद्धबहिरा स्कुलमा फरक क्षमता भएका व्यक्तिहरूलाई नमुना मतदान प्रक्रियामा सहभागी गराइएको छ । 

विगतका निर्वाचन प्रक्रियामा मताधिकार प्रयोगमा वञ्चित हुने गरेका नेत्रहीनहरुलाई आफ्नो सुरक्षित मतदान गर्न पाउने अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो । 

निर्वाचन प्रक्रियाको बारेमा जानकारी नहुँदा मत धेरै मत बदर हुने गरेको नेत्रहीन युवा सङ्घ नेपाल, सुर्खेतका अध्यक्ष शेरबहादुर ओलीले बताउनुभयो ।

 

पूर्ण र आंशिकरुपमा आँखाको दृष्टि गुमाएकाहरूलाई नमुना मतदानले आगामी निर्वाचनमा आफ्नो मताधिकार सुरक्षित गर्न सहज हुने बताउनुभयो ।  

मत कसरी हाल्ने भनेर विगतमा कसैले नसिकाउँदा मतदानको दिन अन्यौलता नमुना मतदानमा सहभागी हुँदा धेरै कुरा बुझ्ने अवसर पाएको सहभागीहरूको प्रतिक्रिया छ ।

मतदानको अनुभव नै नभएका नागरिक पनि पहिलो पटक भोट दिन पुगेका हुन्छन् । तर, भोट कसरी दिने भन्ने राम्रोसँग जानकारी नभएकाले मत बदर हुने सम्भावना देखिँदा मत बदर हुनबाट रोक्न नमुना मतदानको आयोजना गरिएको नेत्रहीन युवा सङ्घ नेपालका कार्यक्रम संयोजक वसन्त जैशीले जानकारी दिनुभयो । 

स्थानीय तहको निर्वाचनमा पनि नागरिकलाई निर्वाचन शिक्षा दिने गरिएको थियो । तर यो पटक पनि टोल बस्तीमै पुगेर मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउने, अशक्त व्यक्तिहरूका लागि सहयोगीले कसरीले सघाउने भन्ने विधि सिकाउने गरिएको छ ।

कर्णालीमा प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभातर्फ २४ प्रत्यक्ष सिट रहेको छ । प्रदेशका १० जिल्लामा कुल १० लाख आठ हजार चारसय तीन मतदाता छन् । प्रदेशभर ९३३ मतदान स्थलमा एक हजार चारसय दुई मतदान केन्द्र तोकिएको छ ।