• १२ साउन २०८१, शनिबार

भालुको आक्रमणबाट युवक गम्भीर घाइते

blog

भालुको आक्रमणबाट गम्भीर घाइते बनेका फुर्वा तामाङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते हुनुभएको छ । जङ्गली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ गम्भीर घाइते हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिबार नै झापास्थित बीएनसी अस्पतालमा पुर्‍याएर थप उपचार सुरु गरिएको बताइएको छ । 

शनिबार बस्ती नजिक बारीमा घाँस काट्न गएको समयमा तामाङलाई भालुले आक्रमण गरेको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो । उपाध्यक्ष कडरियाका अनुसार घाँस काट्ने क्रममा भालुले एक्कासी आक्रमण गरेको थियो । घाँस काट्नका लागि तामाङसँगै गएका अन्य दुईजना भने भागेर ज्यान बचाउन सफल भएका थिए ।