सन् २००९ सेप्टेम्बरमा वाटर फाउन्डेसनले अराल सागरका बारेमा एक डकुमेन्ट्री बनाएको थियो, जुन इसाबेलले बनाएकी थिइन्। सन् १९५० को दशकसम्ममा आरल पृथ्वीको चौथो ठूलो सागर थियो। पहिलो थियो क्यास्पियन समुद्र तथा त्यसपछि लेक सुपेरियर र लेक भिक्टोरिया थिए, ६७ हजार तीन सय वर्ग किलोमिटर क्षेत्रफल भएको अराल चौथो स्थानमा पर्दथ्यो। अराल सागरमा धेरै माछा पाइन्थे र सोभियत सङ्घमा त्यति बेला उपभोग गरिने कुल माछाको छ भागको एक भाग अरालबाटै आपूर्ति हुने गथ्र्यो। अरालका माछाको स्वाद राम्रो हुने भएकाले विश्वभरि त्यहाँको माछाको माग हुने गर्दथ्यो।
कुनै बेला सोभियत सङ्घको हिस्सा रहेका कजाखस्तान र उज्वेकिस्तानको सीमासँग अरालको तट जोडिएको थियो। अरालको चारैतिर फैलिएको विशाल मैदानी भूभाग कृषिका लागि राम्रो हुने निष्कर्ष निकालेर तत्कालीन सोभियत सङ्घले आक्रामक रूपमा विशेषगरी कपास खेती सुरु गर्ने निर्णय ग¥यो तर त्यहाँको जमिन ती बालीका लागि त्यति उपयुक्त थिएन किनभने माटो धेरै सुक्खा थियो र त्यहाँ सिँचाइका लागि कुनै पूर्वाधार थिएन। यस कारण सोभियत सङ्घका इन्जिनियरले अराल सागरको पानीका मुख्य स्रोत नदीहरूको पानी प्रयोग गर्ने योजना बनाए, विशेषगरी अमु डारिया र सिर डारिया नदीको।
इसाबेल कोआरेद्वारा डकुमेन्ट्री छायाङ्कन गरिएको १० वर्षपछि समेत अराल सागर अद्यापि कठोर मानवीय कारणले वातावरणीय त्रासदि निम्त्याउने भयानक गल्तीको एक उदाहरण नै छ । अरालमा जल बहालीका योजनाले केही नतिजा दिएको छ तर एसियाको विशाल तालको पूर्ण बहाली चाँडै हुने सम्भावना देखिँदैन ।
सन् १९६० मा सोभियत सङ्घले व्यापक स्तरमा पूर्वाधार परियोजना निर्माणको योजना बनायो। धेरै पानी चाहिने धानी बाली र कपास बालीमा सिँचाइ उपलब्ध गराउन नदीहरूबाट पानी ल्याउनका लागि पाँच सय किलोमिटर लामो नहर बनाइने भयो। त्रुटिपूर्ण हिसाब, खराब रेखदेख तथा प्रभावहीन सिँचाइ प्रणालीका कारण नदीबाट निकालिने पानीको मात्रा वृद्धि हुँदै गयो र अरालमा त्यसको प्रभाव कसरी परिरहेको छ, त्यसमा ध्यान दिइएन।
सन् १९८० को दशकको आरम्भका वर्षमा इन्जिनियरहरूले हिसाब लगाए, सन् १९६० मा जति मात्रामा पानी अरालमा प्रवाहित भइरहेको थियो त्यसको १० प्रतिशत मात्र पानी अब अरालले पाइरहेको छ। यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो। अरालको धेरै भाग सुकिसकेको र बाँकी भागसमेत निकै तेज गतिमा सुक्न थालेको थियो। सन् १९८९ मा त अराल सागर दुई जलीय भागमा विभाजित हुन पुग्यो। उत्तरतिर एक भाग रह्यो र दक्षिणतिर अर्को। अब ती भागलाई उत्तरी अराल र दक्षिणी अराल भन्न थालियो।
सन् २००९ मा इसाबेलले डकुमेन्ट्री बनाउँदासम्म अरालले आफ्नो मूल सतहको आधा भाग गुमाइसकेको थियो, जुन तुलना गर्दा आयरल्यान्ड जतिको हुन्छ। नजिकैका ९५ प्रतिशत जलाशय र आद्रभूमि मरुभूमिमा परिणत भए भने ६० हजार हेक्टर क्षेत्रफलको उर्वर भूमि रहेको डेल्टाका ५० वटा तालसमेत सुक्न पुगे। चौतर्फी प्रयास थालिएपछि अचेल परिस्थिति त्यति विघ्न परिवर्तन भइरहेको छैन।
अराल सागरमा पानीको कमीले शृङ्खलाबद्ध विपत्ति निम्तिन थाल्यो। सागरमा वाष्पीकरण तीव्र भयो। सागरको गहिराइ घट्दा पानी चाँडै तात्ने र बढी वाष्पीकरण हुन थाल्यो। यसबाट क्रमिक रूपमा गहिराइ घट्दै गयो र त्यससँगै वाष्पीकरण पनि तीव्र हुँदै गयो। अराल सागरको आकारसमेत घट्यो र वाष्पीकरणले गर्दा पानी बढी नुनिलो हुन जाँदा लगभग सबै माछा पनि मरे।
पानीको नुनिलोपना व्यवस्थापन गर्न भूमिगत पानी धेरै तानियो। यसबाट भूमिगत पानीको सतह समेत ५३ मिटरबाट घटेर ३६ मिटर रहन गयो। यस प्रकारको कार्यबाट मानिसका लागि पिउने पानीको सङ्कट उत्पन्न भयो। भएको पानी समेत कपास खेतीमा प्रयोग गरिएको रासायनिक मल र कीटनाशकबाट निकै नै प्रदूषित भएको थियो।
अरालको जलसङ्कटले माछा समेत समाप्त भए। अर्लास्क बन्दरगाहमा सन् १९७० मै पानीको सतह कम भयो र दिन प्रतिदिन जल स्तर कम हुँदै जाँदा बन्दरगाह नै बन्द गर्नु प¥यो। बन्दरगाहमा रहेका माछा मार्ने पानीजहाज नुनिलो मरुभूमिमा विश्राम गर्न पुगे। त्यहाँको दृश्य त्रासदिको प्रतीक भएका छन्।
अर्कोतिर जलवायु व्यवस्थापनमा अराल सागरको भूमिका समाप्त भएर गयो। हिउँद र ग्रीष्मका दिन बढी सुक्खा हुन गए तथा धुले आँधीले नजिकैका क्षेत्रमा असर गर्न थाल्यो, अरालको पिँधमा जमेको नुनिलो माटोको धुलो
चारैतिरका क्षेत्रमा फैलियो। जसबाट त्यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा दुष्प्रभाव पर्न थाल्यो। लिम्फेटिक, कलेजो र घाँटीको क्यान्सर तथा रक्तअल्पता, कडा ब्रोङ्काइटिस, क्षयरोग, टाइफाइड, हेपाटाइटिस र दम जस्ता रोगबाट पीडित हुने सङ्ख्या त्यस क्षेत्रमा ह्वात्तै बढेको थियो। बालमृत्यु दरसमेत बढेर प्रतिसयमा ७.५ हुन पुग्यो। मर्ने अधिकांश बालबालिकामा श्वासप्रश्वाससम्बन्धी रोग थियो किनभने उनीहरूले नुन र अन्य खनिज तत्व भएको वायुमा सास लिनु परेको थियो।
नुनिलो धुलोसहितको आँधी तथा भूमिगत जल स्तर घट्नाले अराल वरिपरिका ४० प्रतिशत वनस्पति नष्ट हुन पुगे। त्यस क्षेत्रमा जीविकाका लागि गरिने खेतीपातीको सम्भावना समाप्त भयो। यी समग्र घटनाले गर्दा उब्जाउ, अनुकूल र जल उपलब्धता भएका क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस पलायन हुँदा जनसाङ्ख्यिक असन्तुलनको अवस्था आयो। यस्तै परिस्थितिबीच सन् १९९१ मा सोभियत सङ्घ विघटन हुँदा कजाखस्तान र उज्वेकिस्तान पनि स्वतन्त्र भए, अनि समस्या आयो त्यहीँ पलायन भएका मानिसहरूको।
अरालको मरुभूमिबाट उडेको नुनिलो धुलो दुई सय किलोमिटर परिधिको क्षेत्रमा फैलिँदा उज्वेकिस्तान, कजाखस्तान, तुर्कमेनिस्तान र छिमेकका अन्य देशको कृषि उत्पादकत्वमा समेत ह्रास आएको थियो। किर्गिस्तानका पहाडी शिखरमा समेत नुन पुग्नाले ग्लेसियर पग्लेर जलवायु परिवर्तनको सङ्कट पनि भयो।
अराल सुक्नाले चौतर्फी उत्पन्न विषम परिस्थितिबीच अरालमा पानीका स्रोत नदीहरू बग्ने सम्बन्धित देशहरूबीच समन्वय गरी समस्या समाधानको उपाय खोज्ने प्रयत्न सुरु भयो तर ती देशबीच नराम्रो राजनीतिक सम्बन्ध यसमा तगारो बन्यो। कजाखस्तान र उज्वेकिस्तानको किर्गिस्तान र ताजकिस्तानसँग मनमुटाव थियो। अमु डारिया र सिर डारिया नदी यी दुवै देश भएर बग्ने भएकाले सबैबीच समन्वय नभई अराल पूर्ववत् हुने सम्भावना थिएन।
तैपनि सन् १९९६ मा अराल सागर ब्युँताउने प्रयास सुरु गरियो। सिर डारिया नदीमा बाँध बाँधेर उत्तरी अरालमा पानीको स्तर बनाइराख्ने र वरिपरिका क्षेत्रमा सिँचाइ गर्ने काम सुरु भएको थियो तर ग्रेगर, बालुवा, माटो र काठले बनाइएको बाँध केही वर्षमै भत्कियो। त्यसपछि सन् २००४ मा १३ किलोमिटर लामो अर्को बाँध बनाइयो। विश्व बैङ्कको सहयोगमा बनाइएको यस बाँधका कारण छ महिनामै उत्तरी अरालमा पानीको सतह चार मिटर र आकार एक तिहाइ बढ्यो। त्यस क्रममा दक्षिण अरालतिर समेत पानी प्रवाहित हुन लागेको थियो।
एराल्स्क सहरबाट ५० किलोमिटर परसम्म पानीको सतह भएको अरालमा हाल १५ किलोमिटरसम्म पानी छ। यस हिसाबले अराल पूर्ववत् जलमग्न हुन धेरै वर्ष लाग्ने छ तर अरालको बहालीको सङ्केत मिलेकाले आशावादी बन्न सकिन्छ।
–उमेश ओझा