• १४ वैशाख २०८१, शुक्रबार

विकिपिडिया एक स्वतन्त्र विश्वकोश

blog

भाइबहिनीहरू ! तपाईंहरूलाई विकिपिडियाका बारेमा जानकारी छ ? अहिले इन्टरनेटमा व्यस्त रहने भाइबाहिनीले विकिपिडियाका बारेमा केही कुरा त सुन्नुपर्ने हो तर कतिपयलाई यसका बारेमा थाह नहुन पनि सक्छ । त्यसैले यसका बारेमा हामी केही चर्चा गरौँ, है त । ‘विकिपिडिया’ दुई शब्द मिलेर बनेको छ, ‘विकि’ र ‘पिडिया’ । ‘विकि’ को अर्थ छिटो भन्ने हुन्छ र ‘पिडिया’ इन्साइक्लो पिडियाको सङ्क्षिप्त रूप हो । यसका आधारमा ‘विकिपिडिया’ छिटो छरितो किसिमले उपलब्ध हुने विश्वको ज्ञानसागर भनेर बुझ्न सकिन्छ ।

विकिपिडिया ३२९ भाषामा सञ्चालित वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो । यसमा जो कोहीले संसारको जुनसुकै कुनाबाट सामग्री राख्न (अपलोड) तथा सम्पादन गर्न सक्छ । यसमा विश्वभरका थुप्रै स्वयंसेवक लेखकले गरिरहेका हुन्छन् । यो वेबसाइट एक विकि हो, यसको अर्थ कसैले पनि यसमा रहेका सामग्रीलाई परिवर्तन गर्न सक्नुहुन्छ । हाल विकिपिडियाको नेपाली संस्करण पनि छ, जो प्रारम्भिक अवस्थामा छ । नेपाली भाषाको विकिपिडिया सन् २००२ जुन ३ मा सुरु गरिएको थियो । हालसम्म नेपाली भाषामा ३२ हजार १६७ लेख रहेका छन् भने यस विकिपिडियामा पाँच जना प्रबन्धक र एक जना प्रशासक कार्यरत छन् । विश्वका विभिन्न ३२९ भाषामा सञ्चालित विकिपिडियामा कुल एक करोडभन्दा बढी लेख रहेका छन् । प्रत्येक दिन संसारभरका सयौँ मानिसले एकै पटक हजारौँ परिवर्तन गर्न सक्छन् । कयौँ स्वतन्त्र लेखकले नयाँ लेख निर्माण गर्छन् । नेपालमा नेपाल भाषा अर्थात् नेवारी भाषा, भोजपुरी भाषा, मैथिली भाषा, डोटेली भाषालगायतका भाषामा विकिपिडिया रहेको छ । जसले नेपाली भाषा, धर्म, संस्कृति र समाज विश्वमाझ चिनाउने अवसर दिएको छ । 

विकिपिडियामा स्वयंसेवकबाट लेख तथा जानकारी लेख्ने गरिन्छ । यस्तो काम इन्टरनेटमा पहुँच भएका जो कोहीले गर्न सक्छन् । यसका साथै यहाँ रहेका सामग्रीको संशोधन, परिवर्तन र परिमार्जन जोकोहीले पनि गर्न सक्छ । यो विकिपिडिया फाउन्डेसन नामक एक गैरनाफामुखी संस्थाद्वारा सञ्चालित छ । सन् २००१ मा विकिपिडिया जिम्मी वेल्स र लारी स्यान्गरले यसको सुरुवात गरेका हुन् । विकिपिडियाको मुख्य सर्भर संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा राखिएको छ । हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री मानिन्छ । अहिले कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जो कसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढ्दो क्रममा रहेको छ । हाल विश्वमा सबैभन्दा धेरै हेरिने इन्टरनेट साइटमध्ये विकिपिडिया पनि एक हो । अहिलेसम्म विकिपिडियाले आफ्नो साइटमा कुनै पनि विज्ञापन राखेको छैन । 

(विभिन्न अनलाइन साइटको सहयोगमा)