• १३ साउन २०८१, आइतबार

सुर्खेतमा सर्जरी सेवालाई प्रभावकारी बनाउन जोड

blog

प्रदेश अस्पताल, सुर्खेतमा भएको कार्यक्रमका सहभागिहरु ।

नवीन सुवेदी

सुर्खेत, कात्तिक  १९ गते । प्रदेश अस्पताल सुर्खेतमा रहेको न्युरो सर्जरी सेवालाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति थाप्नु पर्नेमा जोड दिइएको छ । सर्जरी विभाग अन्तर्गत न्युरो सर्जन इकाइले शुक्रबार गरेको कार्यक्रममा कम्तीमा पनि तीन जना न्युरो सर्जन डाक्टरसहित आवश्यक उपकरण थाप्नु पर्ने बताइएको हो ।

कार्यक्रममा वरिष्ठ न्युरो सर्जन डा. निलक कुमार खड्काले आवश्यक जनशक्ति र उपकरण थपे सेवालाई अझ प्रभावकारी बनाउन सकिने बताउनुभएको छ । उहाँले एमआरआई र न्युरो माइक्रोस्कोप आवश्यक रहेको बताउनुभयो ।

न्युरो सर्जरी विभागका प्रमुख समेत रहनुभएका डाक्टर खड्काले अस्पतालमा धेरैजसो हेड इन्जुरी र स्पाइनलकर्ड इन्जुरीका बिरामीहरू आउने गरेको बताउनुभयो ।  


प्रदेश अस्पतालमा डेढ वर्ष अघिदेखी न्युरो सर्जरी सेवा सुरु भएको थियो । वरिष्ठ न्युरो सर्जन डाक्टर खड्का आएर न्युरो सर्जन सेवा सुरु गर्दा आफूहरूलाई धेरै ठूलो राहत भएको कर्णालीवासी बताउँछन् । 

ट्राफिक प्रहरी कार्यालय, सुर्खेतका प्रमुख नेत्रबहादुर कुँवरले सडक दुर्घटनामा परेर हेड इन्जुरी र स्पाइनलकर्ड इन्जुरी भएका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म कसरी सुरक्षित रूपमा ल्याउन सकिन्छ भनेर प्रहरीलाई तालिम दिनु पर्ने बताउनुभयो ।