• १६ चैत २०८०, शुक्रबार

एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु

अतिक्रमित नेपाली भूमि फिर्ता ल्याएरै छाड्छौँ : अध्यक्ष ओली

blog

दार्चुलामा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, कात्तिक १८ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको देशव्यापी चुनावी अभियानको शुक्रबार दार्चुला सदरमुकाम खलङ्गामा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । 

नेपालको एक इन्च भूमि पनि मिचिन नदिने र अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने उहाँले बताउनुभयो । “हामीले नक्सा मात्र होइन, अतिक्रमित भूमि फिर्ता ल्याउँछौँ” उहाँले भन्नुभयो, “देशको यथोचित विकास, राष्ट्रियताको रक्षा, भौगोलिक रक्षा, समृद्ध नेपाल र सुखी नेपाली बनाउने काममा एमालेले ग्यारेन्टी गर्छ ।”


राष्ट्रियताको प्रश्न र विकास, पछाडि परेका क्षेत्र र समुदायलाई एमालेले समस्या समाधान गरेर अघि बढ्ने उहाँले बताउनुभयो । एमालेले देशव्यापी चुनावी अभियान दार्चुलाबाट सुरुवात गरेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामीले २०७९ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्रमा सबै क्षेत्र समेटेर २० वटा लिखित ग्यारेन्टी गरेका छौँ । त्यसको कार्यान्वयन गर्नेछौँ ।”

एमाले जहिले पनि देशमा समस्या पर्दा हाजिर हुनेगरेको उहाँले बताउनुभयो । दार्चुलाको सीमा सुरक्षा, सडक निर्माण, दार्चुला सदरमुकाम खलङ्गा जोगाउन तटबन्ध निर्माण, कृषिको विकासलगायत समग्र विकासको काम एमाले नेतृत्वको सरकारले गर्ने ओलीले बताउनुभयो । 

“म भारतलाई अहिले पनि भन्न चाहन्छु, नदी सरेर आयो भन्दैमा सीमा वरतिर सार्ने होइन, पहिले नदी भएको ठाउँमा भारतले बाँध बाध्ने होइन, ठूलो भारतले सानो चित्त गर्ने होइन, भारतले त्यस्तो काम गरेमा नेपाली जनताले थिचोमिचोका रूपमा बुझ्ने छन्, त्यस्तो गर्न पाइँदैन ।” भारतले विभिन्न बहानामा काली नदीको उदगम स्थानसमेत नक्कली बनाएको अध्यक्ष ओलीले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘हाम्रो भूगोल जे–जति रहे पनि फिर्ता ल्याउने कुरामा एमाले दृढ छ’ तीन दशक पहिले नै स्वर्गीय प्रेमसिंह धामीले अतिक्रमित सीमाक्षेत्रको आवाज उठाउनुभएको थियो, नेपाली भूमि फिर्ता ल्याउने अभिभारा एमालेकै काँधमा छ, हामी ल्याउँछौँ ।”  दार्चुलाबाट मन्त्री हुनुभएका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले अहिलेसम्म संसदमा कालापानीको ‘क’ उच्चारण नगरेको उहाँले टिप्पणी गर्नुभयो ।

गणेश ठगुन्नालाई जिताएर पठाउनुहोस्, दार्चुलाको विकास एमालेले गर्छ अध्यक्ष ओलीले भन्नुभयो, “साततर्फ फर्केको सात दल मिलेर बनेको सरकारले देशको विकास सम्भव छैन । एमालेलाई एकल बहुमत दिनुहोस् देशको विकास गर्ने जिम्मेवारी हाम्रो हो ।”

एमाले नेतृत्वको सरकारले नक्सा जारी गरेकै कारण अहिले दार्चुला व्यासको कालापानी विश्वले चिन्नेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सेनाद्वारा तीव्र गतिमा तिङ्कर सडक निर्माण गरेर चीनसम्मको सीमासम्म जोड्ने प्रयास भइरहेको छ । कडा चट्टानी भूगोल भएका कारण यो क्षेत्रमा सडक निर्माण गर्न समय लागेको हो ।”

विगतमा भारतले हाम्रै भूमि भएर सीमासम्म सडक लग्यो । अहिले हामीले आफ्नै भूमिबाट बनाउँदासमेत उसले चित्त दुखाउँछ, अध्यक्ष ओलीले थप्नुभयो, “निर्वाचनपछि बन्ने एमाले सरकारले दार्चुलामा नेपाल–भारत जोड्ने मोटर गुड्ने पुल निर्माण गर्नेछ । बाढीका कारण बगाएको सदरमुकाममा खलङ्गा सुरक्षित हुनेगरी तटबन्ध निर्माणको काम गर्नेछौँ ।”

हेलिकोप्टरमार्फत खलङ्गा पुग्नुभएका पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले स्वर्गीय प्रेमसिंह धामीको सालिकमा माल्यार्पण समेत गर्नुभयो । 


एमाले सचिव एबं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवार एवम् एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना लगायत नेताहरुको सहभागिता रहेको कार्यक्रममा हजारौं सर्वसाधारणको समेत सहभागिता थियो ।