• १३ वैशाख २०८१, बिहिबार

बहुउपयोगी तुलसी

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक १८ गते। आज हरिबोधिनी एकादशी तुलसीको पूजा गरेर मनाइएको छ। हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ। 

तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो। तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घरआँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गर्ने आयुर्वेद चिकित्सक बताउँछन्।

बिहान तुलसीको मठ नजिकै बसेर प्राणायाम, श्वास तान्ने, फ्याँक्ने क्रिया अपनाउनाले पनि स्मरणशक्ति वृद्धि हुन्छ। आयुर्वेद चिकित्सक डा.वंशदीप शर्मा खरेलका अनुसार यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। यसले गर्दा शरीरमा विभिन्न किसिमका ब्याक्टेरिया, भाइरस लड्न सक्ने क्षमताको वृद्धि गर्छ। 

दैनिक तुलसीको पातको काँडा बनाएर खाँदा रगत शुद्धीकरण गर्नुका साथै सङ्क्रमणजन्य रोग प्रभावकारी हुन्छ। डा. खरेलले तुलसीको पात, डाँठ र फूल बढी मात्रामा प्रयोगमा आउने गर्दछन्। 

डा.खरेलका अनुसार तुलसीको पात पकाएर खाँदा रुघा, खोकी, ज्वरोबाट छुटकार मिल्छ। पेट, छाती दुख्ने, कफ, दम, निमोनियालगायत श्वासप्रश्वासको समस्या हुँदासमेत तुलसी खान उहाँको सुझाव छ। यसले उच्च रक्तचाप नियन्त्रण गर्न र तनाव हटाउन सहयोग गर्ने  डा.खरेलको भनाइ छ। 

महिनावारीको अनियमितता र क्यान्सरको उपचारका लागिसमेत तुलसी उपयुक्त मानिन्छ। बालबालिकाको पेट दुःखाइ र यात्राको थकान मेट्न तुलसी राम्रो हुने उहाँले बताउनुभयो। शरीरको जुनसुकै भागमा भएको घाउमा तुलसीको पातको रस लगाए छिटो निको हुने डा.खरेल बताउनुहुन्छ। तुलसीको पात चपाउँदा मुखमा भएको दुर्गन्ध र गिजाबाट रगत आउने समस्या छुटकारा मिल्छ। यौनजन्य समस्यामा तुलसीको रस मह मिसाएर सेवन गर्दा फाइदा मिल्ने डा. खरेल बताउनुहुन्छ। 

तुलसीबाट निकालिएको तेलले छालालाई सुख्खा हुनबाट बचाउँछ। टाउको दुखेको बेलामा र कफ जमेको बेलामा तिलको तेलमा तुलसी तेल मिसाएर लगाउँदा कफको समस्या र टाउको दुःखाइबाट छुटकारा मिल्छ। क्रिममा मिसाएर तुलसीको रस लगाउँदा घामबाट छाला जोगाउन सहयोग गर्ने डा.खरेल बताउनुहुन्छ। तुलसी सुगन्धित बोट भएकाले यसको अत्तर बनाएर प्रयोग गर्न सकिने डा. खरेलको भनाइ छ। 

तुलसीको पात र फूललाई प्रयोग गर्न सकिन्छ। तुलसीको चियाको रूपमा पनि पाउन सकिन्छ। यसको चिया सेवन गर्दा आधा चिया चम्चा तुलसीको चियामा मह मिसाएर पिउन सकिन्छ। तुलसीको पात पकाएर पनि खान सकिन्छ। हरियो पात आठ दश वटा टिपेर आधादेखि एक लिटर पानीमा उमालेर त्यसलाई आधा घटाएर चियाका रूपमा प्रयोग गर्न सकिन्छ। तुलसीको पातसँगै गुर्जो, असुरोको धुलो, रक्तचन्दन र दालचिनीको टुक्रा मिसाएर उमालेर खाँदा अझ प्रभावकारी मानिन्छ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।