• १३ वैशाख २०८३, आइतबार

ढोरपाटनमा दादुरा सङ्क्रमितको सङ्ख्या शून्य

blog

दादुराविरुद्धको खोप लगाएका बालबालिकाहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख १३ गते ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आएको छ । स्वास्थ्य संस्थाहरूमा उपचाररत दुई जना बिरामी निको भएर डिस्चार्ज भएसँगै सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो ।

केही बालबालिकामा दादुराको लक्षण देखिए पनि प्रयोगशालाको रिपोर्ट भने आइनसकेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत फागुनको पहिलो हप्ताबाट ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिँदा दुई सय ३५ जनालाई जिल्ला अस्पताल बुर्तिवाङ र बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन बनाएर उपचार गरिएको थियो ।

बुर्तिवाङ जिल्ला अस्पतालमा एक सय ४२ जना र बोबाङ स्वास्थ्य चौकीमा उपचाररत ५४ जना सङ्क्रमित निको भएर घर फर्किएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार, उपचारमा आएका बिरामीमध्ये ९५ जना पुरुष र एक सय ४० महिला रहेका थिए ।  

ढोरपाटन नगरपालिका-७, बोबाङ-८, सेराबाङ र वडा नं. ९ लाकुरीबोटमा दादुरा सङ्क्रमण फैलिएपछि बुर्तिवाङ जिल्ला अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलन बनाएर बिरामीको सघन उपचार गरिएको थियो ।

ढोरपाटनसँग सीमा जोडिएका निसीखोला र बडिगाड गाउँपालिकाका एक, एक जना तथा तमान खोला गाउँपालिकामा दुई जना सङ्क्रमित भेटिएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा जाँच गर्दा दादुरा पुष्टि भएपछि सङ्क्रमण फैलिन नदिन खोप अभियान सञ्चालन समेत गरिएको थियो । अहिलेसम्म ढोरपाटन नगरपालिकाका १० देखि १९ वर्षसम्मका ६ हजार १४० जना बालबालिका तथा किशोर किशोरीलाई दादुराविरुद्धको खोप लगाइएको छ ।

विशेषगरी अत्याधिक ज्वरो, शरीरमा बिबिरा आउने जस्तो समस्या बालबालिकामा भए पनि अभिभावकमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयमार्फत प्रदेश र सङ्घीय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठनको टोली ढोरपाटनका गाउँगाउँमा पुगेर बालबालिका र अभिभावकहरूको उपचारमा साथ दिएका थिए ।