• १० जेठ २०८१, बिहिबार

हराएका परमाणु बम

blog

बी–५२ बम्बर विमान स्पेनको भूमध्य सागर तटीय क्षेत्रमा इन्धनवाहक केसी–१३५ विमानसँग आकाशमै ठोक्किएको थियो। सम्भावित भयङ्कर घटनाबाट जोगिन विमानमा रहेका ७० किलो टनका हाइड्रोजन बममध्ये तीनवटा पालोमेस नगर नजिकै र एउटा समुद्रमा खसालियो। यसरी अमेरिकाले परमाणु दुर्घटना बेहोरेको यो पहिलो र अन्तिम घटना थिएन। 

शीतयुद्धको अवधिमा परिआएको खण्डमा पहिलो आक्रमण आफ्नो हुने क्षमता विकास गर्न अमेरिकी बमवर्षक विमानहरू दशकौँसम्म परमाणु हतियार बोकेर विश्वमा उडान भरिरहन्थे। कुनै असमझदारीले आक्रमणको अवस्था सिर्जना भएमा सोभियत सङ्घभन्दा पहिले आफूले परमाणु हतियार प्रयोग गर्ने तयारी अमेरिकाले गरिरहन्थ्यो। यस स्तरको सैन्य अभ्यासका कारण दुर्घटना अवश्यम्भावी नै थियो। पेन्टागनको रिपोर्टअनुसार नै भन्नुपर्दा रन वेमै तीन दर्जनभन्दा बढी पटक त्यस्ता दुर्घटना भए जहाँ बमवर्षक विमान दुर्घटनाग्रस्त भएका थिए वा तिनमा आगो लागेको थियो। जसका कारण बममा क्षति पुग्दा परमाणु प्रदूषण फैलियो वा परमाणु हतियार नै गुमाउनुपर्ने भयो। अमेरिकाले जति पनि परमाणु दुर्घटना भए तिनलाई ब्रोकन एरो भन्ने गरेको थियो। 

संसारको नजरमा परेको र चौतर्फी चर्चाको विषय बनेको ब्रोकन एरो चाहिँ सन् १९६६ जनवरी १७ को थियो। जुन दिन बी–५२ बमवर्षक विमान स्पेनको आकाशमा केसी–१३५ इन्धनवाहक विमानसँग ठोक्कियो। 

स्ट्राटेजिक एयर कमान्डको दक्षिणी रुटमा नियमित निगरानी मिसन सकाएर बमवर्षक विमान उत्तरी क्यारोलिनमा रहेको आफ्नो आधार शिविरमा फर्किरहेको थियो। त्यसै क्रममा विमानमा इन्धन सकिन थाल्यो र इन्धनवाहक विमानबाट आकाशमै त्यसमा इन्धन भर्न थालियो।  

तर बी–५२ बमवर्षक इन्धनवाहक विमानसँग ठोक्किन पुग्यो र विमानमा क्षति पुग्दा इन्धनमा आगो लाग्यो। अर्कोतिर केसी–१३५ विमान तत्काल पड्कियो र त्यसमा रहेका चालक दलका सबै चार सदस्यको मृत्यु भयो। बी–५२ मा रहेको सात जनामध्ये चार जना पारासुटका मद्दतले त्यहाँबाट उम्कन सफल भए। 

विमानमा रहेका कुनै पनि बम विस्फोटका लागि तयारी अवस्थामा राखिएका थिएनन् तर दुईवटा बमका विस्फोटक पदार्थ जमिनमा बजारिँदा पड्किन पुगे। जसका कारण ठूलो खाल्डो प-यो र पालोमेस नजिक रेडियोधर्मी प्लुटोनियम फैलियो। तेस्रो बम नदी किनारको सुक्खा भागमा खस्यो र अमेरिकी उद्दार टोलीले त्यसलाई ठीक अवस्थामै फेला पा-यो। समुद्रमा खसेको चौथो बम अहिलेसम्म फेला परेको छैन। 

पालोमेस स्पेनको एक दुर्गम क्षेत्र हो र त्यहाँ माझी र कृषकको बसोबास रहेको छ। विमान दुर्घटना भएको केही समयमै त्यो क्षेत्रमा दुई हजार जति अमेरिकी सैनिक तथा स्पेनी अधिकारीको भीड लाग्यो। उनीहरू उद्दार कार्य तथा बम खोज्ने र रेडियोधर्मी तत्व हटाउनमा दिनरात खटिए। 

रेडियोधर्मी विकिरणको प्रभाव नपरोस् र  थप चुहावट नहोस् भनी अमेरिकी सैनिक र अधिकारीहरूले धेरै सावधानी अपनाए तर त्यहाँ बसोबास गर्ने स्पेनीहरूले यस पक्षमा कुनै वास्ता गरेनन्। उनीहरूलाई परमाणु प्रविधि र त्यसको प्रभावका बारेमा खासै ज्ञान पनि थिएन। यस कारण सुरक्षाका लागि अमेरिकीहरूले रेडियोधर्मी विकिरणले प्रदूषित करिब १४ सय टन माटो तथा बोटबिरुवा सुरक्षित रूपमा विसर्जन गर्न अमेरिका लिएर गए।  

यसबीच समुद्रमा अमेरिकी जलसेनाका ३३ पानीजहाज हराएको हाइड्रोजन बम खोज्नमा लागेको थियो। आईबीएम कम्प्युटर प्रयोग गरी विशेषज्ञहरू समुद्रमा बम रहेको स्थान पत्ता लगाउने प्रयासमा लागिरहे तर बम खसेको सम्भावित क्षेत्र धेरै नै ठूलो थियो। 

अन्त्यमा प्रत्यक्षदर्शी एक स्पेनी माझीलाई समुद्रमा लगेर खोजको दायरा साँघुरो पारी एक माइल क्षेत्रमा ध्यान केन्द्रित गरियो। यस प्रयासले काम ग¥यो। मार्च १५ मा एउटा पनडुब्बीले काम पत्ता लगायो  र अप्रिल ७ मा त्यसलाई बाहिर निकालियो। बममा क्षति पुगेको भए पनि त्यो सुरक्षित अवस्थामै थियो। 

अमेरिकाले बम खोज्ने काम सक्यो र फर्कियो तर पालोमेसका बासिन्दामा परमाणु दुर्घटनाले परेको प्रभावका बारेमा खासै अनुसन्धान भएन। स्वास्थ्य सम्बन्धमा पालोमेसबाट आएका करिब पाँच सय मामिलामा अमेरिकाले सम्बोधन ग¥यो। 

विदेशी भूमिमा भएको घटना भएका कारण संसारलाई थाहा भयो र यसमा अमेरिकाले पन्छिन सकेन तर आफ्नै भूमिमा भएका दुर्घटनालाई अमेरिकाले लामो समयसम्म गुपचुप राख्यो। विकिरणको प्रभावमा परेका अमेरिकीले त्यसको कारण समेत जान्न सकेनन्। अमेरिकाले आफ्नो सुरक्षा उपायका रूपमा ती घटना सार्वजनिक नगरेको हुन सक्छ।

आज पनि दुई हाइड्रोजन बम र एउटा युरेनियम कोर जर्जियाको वासा साउन्ड, वासिङ्टनको पुगेट साउन्ड र उत्तरी क्यारोलिनाको गोल्डस्ब्रो नजिक दलदलको अज्ञात ठाउँमा बेपत्ता छन्।  


–युवामञ्च