• ११ असोज २०८१, शुक्रबार

विद्युत् पुग्यो, सेवा पुगेन

blog

गोकर्ण पौडेल 

तुलसीपुर, कात्तिक १८ गते । घोराही उपमहानगरपालिका वडा नम्बर ११ चाँचलामा विद्युत् पुगेको एक वर्ष बित्यो। विकट बस्तीमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को भित्री सक्राम हुँदै करिब छ किलोमिटर विद्युत् तार विस्तार भए पनि अझै सेवा सुरु हुन सकेको छैन। थ्री फेसको लाइन पुगे पनि स्थानीय सेवा प्रवाहमा जोडिन पाएका छैनन्। 

स्थानीय आकाश विरहीले गाउँमा विद्युत् सेवा पुगे पनि उपभोग गर्न नपाएको बताउनुभयो। उहाँले विद्युत् प्राधिकरणले सेवा प्रवाह सुरु नगर्दा मोबाइल चार्ज गर्न पनि छ किलोमिटर दक्षिणको भित्री सक्राममा आउनुपर्ने बाध्यता रहेको बताउनुभयो। गाउँमा विद्युत् सेवा सञ्चालनमा आएपछि आधारभूत आवश्यकताका साथै बारीमा खोलाको पानी सिँचाइ गर्न सकिने बताउनुभयो। 

घोराही उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कुलबहादुर लामिछानेले विद्युत् सेवा सुरु गर्न प्राधिकरणसँग समन्वय भइरहेको बताउनुभयो। उहाँले वर्षाका कारण केही ठाउँमा विद्युत् पोल र तारमा क्षति पुगेकाले निर्माण गरेर सेवा सञ्चालन गरिने बताउनुभयो।

करिब ५० घरधुरी रहेको चाँचलामा सडक विस्तारसमेत भएको छ। दुईवटा ट्रान्समिटरसहित विद्युत् विस्तार गरिएको छ। विद्युत् विस्तारका क्रममा काम गरेका श्रमिकले अझै भुक्तानी पाएका छैनन्। वडा सदस्य रामबहादुर पौडेलका अनुसार विद्युत् विस्तारमा काम गरेका श्रमिकले दुई लाख २८ हजार रकम भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो। उहाँले पटक–पटक निर्माण कम्पनीसँग रकम भुक्तानीका लागि प्रयास गरे पनि सार्थकता पाउन नसकिरहेको बताउनुभयो। 

घोराही उपमहानगरपालिकाको विकट क्षेत्र चाँचला पुग्न तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को चुनारापाटा खोलामा पुल निर्माण गरिने भएको छ। वडा सदस्य रामबहादुर पौडेलले पुल निर्माणका लागि सर्भे प्रक्रिया पूरा गरिएको र यसै वर्षभित्र पुल निर्माणको काम पूरा हुने बताउनुभयो।