• ११ असोज २०८१, शुक्रबार

सत्ता गठबन्धनलाई मत बदर हुने चिन्ता

blog

रेखीराम राना 

पाल्पा, कात्तिक १८ गते । पाल्पाका निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले मत बदर हुन नदिन छुट्टै टोली बनाएर मतदातालाई मत हाल्न सिकाएका छन्। 

जिल्लामा गठबन्धनका तर्फबाट विभिन्न दलका उम्मेदवार बनेकाले मत बदर हुने आकलनसहित मतदातालाई मत दिन सिकाउने गरिएको उम्मेदवारको भनाइ छ। खासगरी सत्ता गठबन्धनबाट पाल्पा क्षेत्र नं. २ मा तीन दलका उम्मेदवार भएकाले मतदातालाई शिक्षा दिन टोली खटाइएको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो। 

पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधि सभामा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सोमप्रसाद पाण्डेय उम्मेदवार बन्नुभएको छ। प्रदेश सभा २ (क)मा कांग्रेसबाट वीरबहादुर राना र २ (ख)मा माओवादी केन्द्रबाट तुलाराम घर्तीमगर गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ। यो क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादीले टोली नै बनाएर मतदातालाई मत खसाल्न सिकाएको श्रेष्ठले बताउनुभयो। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा मतदातालाई उचित शिक्षा दिन नसक्दा केही स्थानमा आफ्ना उम्मेदवारले पराजय बेहोरेको बताउँदै श्रेष्ठले यस पटक मतदातालाई सही ढङ्गले मत दिन सक्षम बनाउने बताउनुभयो। 

अहिले मतपत्र पनि धेरै हुने हुँदा मतदाता अलमलिन सक्ने भएकाले मतदातालाई सिकाउन प्रत्येक घरमा पुग्ने गरी टोली खटाइएको नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष कमल पाण्डेयले बताउनुभयो। “क्षेत्र नं. १ मा खास समस्या छैन, त्यहाँ कांग्रेसबाट मात्रै गठबन्धनका साझा उम्मेदवार रहेका छन्,” पाण्डेयले भन्नुभयो, “तर क्षेत्र नं. २ मा समस्या हुन सक्ने भएकाले हामीले मत बदर हुन नदिन मतदातालाई शिक्षा दिन सुरु गरिसकेका छौँ।” स्थानीय तहमा बनेका पार्टी कमिटीले वडा, गाउँ र टोलमा पुग्ने गरी संयुक्त रूपमा मतदाता शिक्षा सञ्चालन गरिरहेको उम्मेदवारहरूको भनाइ छ। 

जिल्लामा नेपाल कम्युनिस्ट पार्टी एमाले भने एक्लै चुनाव लडेकाले हालसम्म मतदाता शिक्षा सञ्चालन नगरेको बताएको छ। सम्बन्धित पार्टीको भेटघाट तथा सभा सम्मेलनमा मत कसरी हाल्नेबारे उम्मेदवार र पार्टीका नेताहरूले बताइरहेका छन् तर टोली नै बनाएर मतदाता शिक्षा दिने गतिविधि भने नगरेको एमालेले जनाएको छ। निर्वाचन आयोगले पनि पाल्पाका सबै स्थानमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। पाल्पाका ८१ वटै वडामा स्वास्थ्य स्वयंसेविकाबाट मतदाता शिक्षा दिने कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिनुभयो। मतदाता शिक्षाका लागि आवश्यक नमुना मतपत्रलगायतका सामग्री सम्बन्धित वडामा पुगिसकेको अर्यालले जानकारी दिनुभयो। यस पटक स्थानीय तहको चुनावमा भन्दा कम मत बदर हुने अनुमान आयोगले गरेको उहाँको भनाइ छ।