• ६ जेठ २०८१, आइतबार

डलरको मूल्यवृद्धिले समस्या

blog

विश्व बजारमा अमेरिकी डलरको मूल्य बढ्दै गएको छ। त्यसैले डलरको महत्व झन् बढ्दो छ। नेपालजस्ता अति कम विकसित मुलुकको अर्थतन्त्र आत्मनिर्भर नहुने र खाद्यान्न, लत्ताकपडालगायत औषधि र कच्चा पदार्थसमेत आयात गर्नुपर्ने बाध्यताकै कारण अमेरिकी डलरको सञ्चितिमा चाप पर्छ। हाम्रो अर्थतन्त्र आत्मनिर्भर छैन र अधिकांश वस्तु आयात गर्नु परिरहेको छ। आयातमा वृद्धि र निर्यातमा कमी हुँदा शोधनान्तर घाटा बढिरहेको छ। २० खर्बको आयात हुँदा केवल दुई खर्ब मात्र निर्यात गर्छौं कसरी देशको अर्थतन्त्र आत्मनिर्भर हुन सक्छ ? त्यसैले जति विदेशी मुद्रा राज्यले प्राप्त गर्छ त्यो सबै आयातको भुक्तानीमा नै खर्च हुन्छ। हामीले जति नै विदेशबाट आयात गरेका हुन्छौँ, ती सबैको भुक्तानी अमेरिकी डलरमा नै गर्नुपर्ने हुन्छ। आयातमा धेरै भुक्तानी गर्ने, थोरै मात्र निर्यात गरेर विदेशीमा मुद्रा प्राप्त गर्ने हुँदा विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ। विदेशी मुद्रा सञ्चितिमा कमी हुँदा अहिले छ/सात महिनाको लागि मात्र पुग्ने विदेशी मुद्रा रहेको अवस्था छ।

अन्य मुद्राको तुलनामा हामी सबैले विदेशी मुद्रा भन्नु नै अमेरिकी डलर भन्ने मात्र बुझ्दै आएका छौँ। केही समयअघि स्ट्रलिङ पाउन्ड तथा युरोको प्रभुत्व रहेकोमा अहिले विश्व अर्थतन्त्रमा नै अमेरिकी डलर बलियो हुँदै आएको छ। विश्वका शक्ति सम्पन्न देश हुनुको साथै विश्वमा नै उसले व्यापार विविधीकरण गर्दै आफ्नो अर्थतन्त्रलाई मजबुत बनाइरहेको छ। यसकारणले पनि डलर मजबुत बनिरहेको हो। 

विगत केही वर्षदेखि डलरको भाउ क्रमिक रूपमा बढ्दै आए पनि अहिले एक्कासि बढेको छ। केही समयअघि एक डलर खरिद गर्न ११५।१२० नेपाली रुपियाँ पर्दथ्यो भने अहिले त १३१ भन्दा बढी पुगेको छ। सामान्य अवस्थामा त हाम्रो विदेशी मुद्रामा चाप पर्दथ्यो भने अहिले त डलरको मूल्य यसरी अकासिँदा देशको अर्थतन्त्रलाई धक्का पर्न जानु स्वाभाविकै हो। सञ्चितिमा दबाब पर्न गएकाले विदेश जाने सर्वसाधारणलाई पनि नेपाल राष्ट्र बैङ्कले ज्यादै न्यून रकम मात्र उपलब्ध गराइरहेको छ। यस्तो गर्नुको मुख्य कारण भनेको हाम्रो विदेशी मुद्राको सञ्चितिमा कमी हुनु हो। डलरको डर हुँदाहुँदै पनि सरकारले आयात नियन्त्रण गर्न केही वस्तुमा बन्देज र नियन्त्रणको नीति लिएको देखिन्छ। निर्यात प्रोत्साहन गर्न आन्तरिक उत्पादनलाई उत्प्रेरणा गर्ने नीति पनि लिएको छ। विलासिताका वस्तुमा पूर्ण रूपमा नियन्त्रण गरेको अवस्था पनि छ।

हाम्रो राजस्व मूलतः भन्सारमा आधारित भएको हुँदा यसरी आयात नियन्त्रण गरिँदा राजस्वमा प्रतिकूल असर पार्नेछ। राजस्वमा असर पर्नासाथ सरकारले गर्नुपर्ने खर्चमा समेत प्रभाव पर्छ नै। त्यसकारण आयात नियन्त्रण गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ भन्न सक्ने देखिँदैन। आयातलाई प्रतिस्थापन गर्ने गरी आन्तरिक उत्पादनमा जोड दिनुपर्छ। अब प्रश्न आउँछ नेपाललाई किन डर छ त डलरको ? हाम्रो अर्थ प्रणाली आयातमा निर्भर भएकाले नुनदेखि सुनसम्म विदेशबाट खरिद गर्छौं। यी सबैको भुक्तानी विदेशी मुद्रा अर्थात् अमेरिकी डलरमा गर्नुपर्छ। आफ्नो उत्पादनले आफैँलाई नपुग्ने भएकाले ज्यादै न्यून वस्तु मात्र निर्यात गरेका छौँ। यति सानो रकमले बढ्दो आयातलाई प्रतिस्थापन गर्न नसक्ने हुँदा साधारण वस्तु खरिदमा नै हाम्रो विदेशी मुद्रा खर्चिनु परिरहेको छ। यसले पनि हामीलाई डलरको डर नै छ र डलरलाई कसरी जोगाउन सकिन्छ भन्ने तर्फ हाम्रो अर्थतन्त्रउन्मुख भएको छ।

अहिले हामीले विभिन्न मित्र राष्ट्रलाई तिर्नुपर्ने वैदेशिक ऋण करिब २० खर्बभन्दा बढी छ। प्रत्येक वर्ष साँवा ब्याज फिर्ता गर्नुपर्ने हुन्छ, फिर्ता गर्दा अमेरिकी डलरमा नै गर्नुपर्छ। गत विगत वर्षदेखि तिर्न बाँकी रकम अहिले भुक्तानी गर्नुपर्ने र डलरको भाउ बढ्दा डलरले सरकारी ढुकुटीमा असर पारिरहेको अवस्था छ। लिएको साँवाभन्दा पनि विनिमय दर वृद्धि र ब्याजको रकमले साँवालाई नउछिन्ला भन्न सकिन्न। यसरी ऋण लिएका क्षेत्रमा खासगरी सडक, खानेपानी, विद्युत्का ठूला ठूला योजना रहेका छन्। यस्ता योजना छोटो समयमा निर्माण नहुने र साँवा ब्याज भने बढ्दै जाने हुँदा सम्झौता रकमभन्दा धेरै रकम बढी भुक्तानी गर्नुपर्ने परिस्थिति सिर्जना भएको देखिन्छ। उदाहरणका लागि कतिपय विद्युत्का आयोजना धेरैअघि सम्झौता भएका थिए। तिनीहरूको अहिले भुक्तानी गर्दा डलरको भाउ अकासिएको हुँदा राज्यले ठूलो नोक्सानी भोग्नु परिरहेको छ। आफ्नो उत्पादन न्यून भएकाले निर्यात गर्न नसक्ने र पूर्ण रूपले आयातमा निर्भर हुनु पर्दा व्यापार घाटा चरम सीमामा पर्न जानु स्वाभाविकै हो। अर्को तर्फ वैदेशिक ऋण भुक्तानी गर्दा विनिमय दरको कारणले गर्दा सरकारको ढुकुटीमा प्रतिकूल असर पर्न गएको छ। यसकारणले गर्दा डलरको मूल्य अकासिँदा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा भएको छ।

डलरको माग बढ्नुमा खास गरेर रुस– युक्रेनको युद्धलाई लिन सकिन्छ। मूलतः युद्धको समयमा धनी राष्ट्रको मुद्राको माग बढ्दै गएको हुन्छ। वर्तमानमा यही कारणले गर्दा अमेरिकी डलरको मूल्य अकासिँदै गएको छ। नेपाली रुपियाँ भारतीय मुद्रासँग स्थिर विनिमय दरमा निर्धारण गरिएको र अहिले भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा अवमूल्यन भएकाले नेपाली रुपियाँ स्वतः कमजोर हुन गएको छ। जबसम्म भारतीय मुद्रा बलियो हुन सक्दैन तबसम्म नेपाली मुद्रा कमजोर हुन्छ। डलरको मूल्य बढ्दै गएको र अन्य मुद्रा कमजोर हुँदै गएकाले तत्काल नेपाली रुपियाँमा सुधार आउने सङ्केत देखिँदैन। वर्तमान अवस्थामा सबै मुलुकको ध्यान डलरमा नै केन्द्रित भएको छ। बाह्य मुलुकसँग डलरमा नै कारोबार हुने हुँदा डलरको सञ्चितिमा सबै देशले डलरलाई नै प्राथमिकता दिएका छन्। नेपालले पनि डलरको जोगाउन आयातमा कडाइ र निर्यातमा प्रोत्साहन गर्दै आएको छ। नेपालको आफ्नो मुद्रा कमजोर हुँदै गरेको र भारतीय मुद्रासँग स्थिर विनिमय दर कायम गरेकाले अमेरिकी डलरको आर्जन बढाइ जोगाउनु आवश्यक नै छ।

नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग हुँदै आएको छ र भारतसँग भा.रु. किन्दा पनि डलरमा नै किन्नुपर्छ। यसरी घुमाउरो किसिमले भारतसँगको कारोबार पनि अमेरिकी डलरमा नै हुने गरेको छ। भारतीय रुपियाँ अहिले अवमूल्यन हुँदै गएको र नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर दर कायम भएकाले नेपाललाई एक प्रकारले फाइदा नै भएको छ। किनभने पहिले जति डलर तिरेर भा.रु.जति आउँथ्यो अहिले त्यति डलर तिर्दा बढी भा.रु. आउने हुन्छ। प्रकारान्तमा जे जस्तो भए पनि नेपालले डलर जोगाउनुको विकल्प देखिँदैन।

निर्यात बढी गर्ने देशका लागि भने डलरको मूल्य वृद्धि हुँदा फाइदा नै हुन्छ। नेपालजस्ता देश जो आयातमा निर्भर भएका हुन्छन् उनीहरूलाई भने ठूलो घाटा हुने गर्छ। त्यसैले नेपालजस्ता देशले निर्यातलाई प्राथमिकता दिनुपर्छ। नेपालले विदेशी मुद्रा आर्जन गर्ने स्रोत भनेको पर्यटन नै हो। विभिन्न देशमा गएका श्रमिकले आर्जन गरेर पठाउने रकम अमेरिकी डलरमा हुने हुँदा यसको अधिकतम सञ्चय गर्नुपर्छ। अहिले पनि नेपालको अर्थतन्त्रलाई धान्ने काम विप्रेषण नै भएकाले यसको संरक्षण गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ । यसो गर्न सकेमा आन्तरिक उत्पादन वृद्धि हुन्छ र परिणामस्वरूप निर्यात बढ्न जान्छ। निर्यात बढ्दा विदेशी मुद्रा आर्जन हुनु स्वाभाविकै हुन आउँछ।

अहिले अमेरिकी डलर सञ्चितिले बढी प्राथमिकता पाउँदै गरेको अवस्था छ। विदेशमा आर्जन गरेको रकम पनि स्वदेशमा कम आउने गरेको समाचार पनि आई नै रहेका छन्। कतिपय आउने रकम पनि सरकारको ढुकुटीमा प्रवेश नै गरेको छैन भन्ने भनाइ पनि रहेको छ। स्वदेशी मुद्रा कमजोर भएको अवस्थामा विदेशमा पुँजी पलायन हुने सम्भावना पनि त्यत्तिकै जोखिम हुन्छ। भनिन्छ अहिले नेपालमा क्रिप्टोकरेन्सी बढ्दै गएको छ। विदेशमा रहनेले त क्रिप्टोकरेन्सी यसै खेल्ने भई नै हाले। नेपालमा रहनेहरूले पनि यसको कारोबार गरेका खबर आई नै रहेका छन्। यसले अमेरिकी डलरको सञ्चितिमा प्रतिकूल असर पारेको हुन सक्छ। क्रिप्टोकरेन्सीको कारोबार अमेरिकी डलरमा नै हुने हुने भएकाले यसतर्फ सरकारले समयमै नियन्त्रण गर्ने संयन्त्रको विकास गर्नुपर्छ।

जे भए पनि अमेरिकी मुद्रा आर्जन गर्ने सम्बन्धमा नेपालले सम्भावित क्षेत्रको विकास गर्नुपर्छ । मुख्यतः आयात नियन्त्रण र निर्यातलाई उत्प्रेरित गर्नुपर्छ। अर्को सम्भावित क्षेत्र भनेको पर्यटन व्यवसाय हो। पर्यटन विकासबाट मनग्गे आय आर्जन गर्न सकिन्छ भने देशमा रोजगारीको अवसरमा पनि वृद्धि गर्न सकिन्छ। त्यस्तैगरी अहिले विदेशी मुद्राको आम्दानीको ठूलो स्रोत भनेको विप्रेषण पनि हो। रोजगारीका लागि विदेश जानेको सङ्ख्या करिब ५० लाखको हाराहारीमा छ। यति ठूलो सङ्ख्याले आर्जन गरेको विदेशी मुद्रा निश्चय नै ठूलै हुन्छ। त्यसैले यसलाई व्यवस्थित गर्न सकियो भने विदेशी मुद्रा सञ्चितिमा कुनै समस्या हुने छैन। मुख्य विषय भनेको स्वदेशमा नै रोजगारी उपलब्ध गराएर उत्पादन वृद्धि गर्नुपर्छ। यसरी उत्पादन गरिएका वस्तु विश्व बजारमा पु-याउन सकियो भने नेपाललाई विदेशी मुद्राको कुनै समस्या हुने छैन।