आज गुरुपूर्णिमा । हरेक वर्ष असार शुक्ल पूर्णिमाको दिनलाई गुरुपूर्णिमाको रूपमा मनाइन्छ । यो दिन शिक्षक, योग/आध्यात्मिक गुरु वा जीवनमा महत्वपूर्ण सल्लाह प्रदान गरेका व्यक्तिलाई भेटेर, उपहार दिएर, सम्झना र सम्मान प्रकट गरी एउटा पर्वका रूपमा नै मनाइन्छ ।
भनिन्छ– जन्म संयोग र मृत्यु सत्य हुन्छ । यो संयोग र सत्यको बिचमा मानिसले धेरै कुरा सिक्छ, धेरै मानिसमार्फत । जस्तै, माता पिता, शिक्षक र गुरु । यी सबै सिकाइ जीवनका अमूल्य सम्पत्ति हुन्, मार्ग दर्शन हुन् । यी सिकाइभन्दा शक्तिशाली हुँदा रहेछन् । आफ्नै अनुभवका सिकाइ । जब हामीले प्रत्यक्ष अनुभव गर्छौं, तब ती सिकाइलाई मस्तिष्कले वास्तविक घटना र भावनासँग जोडेर सम्झन्छ, जसले सिकाइ स्थायी बनाउँदो रहेछ । सिकाइ केवल जानकारी लिनु होइन, व्यवहारमा उतार्न पनि हो । यिनै सिकाइलाई व्यवहारमा रूपान्तरण गर्ने क्रममा हामी परिस्थितिसँग भावनात्मक रूपमा संलग्न हुन्छौँ । जसले सिकाइलाई दिगो र अर्थपूर्ण बनाउँछ ।
एउटी महिलाको जीवन कुनै सिधा र सरल बाटो होइन । त्यसमा पनि मध्यय वर्गीय कामकाजी महिलाको जीवन थप चुनौतीपूर्ण हुन्छ नै । रोजाइको भन्दा बाध्यताको काम धेरै गर्नुपर्ने । पारिवारिक दायित्व वहन गर्नै पर्ने । सामाजिक संरचना अनुरूपका मूल्य मान्यतालाई पनि पच्छ्याउनै पर्ने । व्यावसायिक जीवनमा पनि सिर्जनशील र अद्यावधिक हुनै पर्ने । यी अनुभवबाट गुज्रिँदै गर्दा यिनले केही सिकाइरहेको जस्तो लागिरहेको छ । मिहीन ढङ्गबाट यी भोगाइलाई विश्लेषण गर्दा जीवनमा कुनै गुरु वा ग्रन्थले नसिकाएको कुरा सिक्दै छु । आफूलाई क्रमशः परिपक्व हुँदै गएको महसुस गर्दै छु । मैले यो खाँदा शरीरले सहन सकेन, अब म त्यो खाँदिनँ वा कम खान्छु । यसरी सोच्दा वैचेन भएँ, सो सोचलाई पुनरावृत्ति गर्दिनँ । यस्तो गर्दा निद्रामा असर प¥यो, त्यसैले अब यस्तो गर्दिनँ । यसरी सोच्दा खुसीको अनुभूति भयो, त्यसरी नै सोच्छु ।
आफू नै पहिलो प्राथमिकता
हामीलाई बाल्यकालदेखि नै अरूका लागि सोच्नु पर्छ, स्वार्थी हुनु हुँदैन भनेर सिकाइएको हुन्छ । म पनि त्यही संस्कारबाट नै हुर्केकी हुँ । यो संस्कार गलत भने होइन तर अरूका लागि गर्नु भनेको आफूलाई नै मेटाउनु भने होइन रहेछ । यसको पनि सीमा हुनुपर्दो रहेछ । किनकि हरबखत अरूको बारेमा सोच्दा आफ्ना प्राथमिकता ओझेलमा पर्दा रहेछन् । अनावश्यक उल्झनमा फसिँदो रहेछ । हाम्रो समय र ऊर्जा सीमित हुँदो रहेछ । केवल अरूका लागि खर्च गर्दा आफ्ना लागि समय नपुग्दो रहेछ । ऊर्जा सकिँदो रहेछ । मेरो पहिलो जिम्मेवारी मेरो खुसी रहेछ । अतः हरेक सङ्गत, हरेक अवसर र हरेक निर्णयमा आफूलाई केन्द्र विन्दुमा राख्नु पर्छ रहेछ । जबसम्म उसले आफैँलाई आदर र माया गर्न सकिँदैन, तबसम्म अरूलाई पनि साँचो अर्थमा साथ दिन सकिँदो रहेनछ । आत्म–प्रेम नै सबै सम्बन्धको आधार रहेछ ।
हरेकको ऊर्जा र समय सीमित छ । त्यसलाई आफ्नो हितमा प्रयोग गर्न जरुरी रहेछ । मलाई मेरो हरेक क्रियाकलाप र निर्णयमा अरूको स्वीकृतिको आवश्यकता पथ्र्यो । ‘तिमी ठिक छौँ’ भन्ने सुनेपछि मात्र कुनै काम वा निर्णयमा अगाडि बढ्न सक्थेँ । के गर्नु छ ? के छैन ? आफैँले तय गर्न सक्दिनथेँ । यसरी भन्दा मलाई अरूको स्वीकृतिको लत नै लागेको थियो । यो बाहिरी अनुमोदनले क्षणिक खुशी त दिन्थ्यो तर केही दिनमै आत्मविश्वास र आत्म सम्मानमा ठेस पुगेको महसुस हुन्थ्यो । किनकि कैयौँ अनुमोदन दिनेहरूकै स्वार्थका लागि हुन्थे । कतिपय केवल फुर्काउनका लागि हुन्थे ।
यति बुझ्दै गएपछि मनको गर्छु भनेर सोच्थेँ तर फेरि साथी वा सहकर्मीले मलाई कसरी हेर्लान् ? आफन्तले कसरी सोच्लान् ? भनेर सजग भइहाल्थेँ । यसरी अरूप्रतिको ‘इमोस्नल डिपेन्डेन्स’ ले मनको शान्ति हराएको जस्तो हुन थाल्यो । अन्तरमनको नभई अरूलाई रिझाउनका लागि गरिएका कामले तन–मन गलाउने त भए नै । आफ्नो खुसी के मा छ भन्ने समेत बिस्तारै बिर्सिन थालेँ । आफ्नो लक्ष्यबाट विचलित हुन थालेको महसुस गर्न थालेँ । यसरी मैले यो बानीमा क्रमशः सुधार ल्याउनै पर्ने भयो ।
सानो सर्कल नै पर्याप्त
लाग्थ्यो कि भेटेका जति सबैलाई जीवनमा समावेश गर्नै पर्छ । ती आफन्त हुन् वा साथीभाइ वा सहकर्मी नै । एउटा भ्रम थियो– ती सबै मेरा शुभ चिन्तक हुन् । उनीहरूले मेरो खुसी र उन्नतिको कामना गर्छन् । मैले पनि गर्नु पर्छ । त्यसो होइन रहेछ । कैयौँ केही स्वार्थका लागि जोडिँदा रहेछन् । कोही कुरा मात्र गर्नु वा समय बिताउनका लागि मात्र । सर्कल बढ्दै जाँदा सङ्ख्या त बढ्ने तर आत्मीयता फितलो हुँदै जाने रहेछ । भेटेका जति सबैलाई आफ्नो बनाउन खोज्दा समय र ऊर्जा मात्र क्षय हुँदो रहेछ । किनकि आफूलाई आवश्यक पर्दा परिवारका केही सदस्य र केही साथी मात्र साथमा हुँदा रहेछन् । भन्नुको तात्पर्य कसैलाई भेट्दा देख्दा मुन्टो बटारेर हिँड्नु पर्छ भन्ने होइन तर कसलाई देख्दा, भेट्दा यसो हाई हेल्लो मात्र भन्ने ? कसलाई जीवनको करिब राख्ने भन्ने सन्दर्भमा सीमा निर्धारण अति नै आवश्यक हुँदो रहेछ । अन्यथा ठुलो सर्कलले जीवन नै बोझिलो बनाइदिँदो रहेछ ।
जीवनमा ठुलो भिड होइन कि आफू हारेको र थाकेको बेलामा समेत साथ र हौसला दिने सानो सर्कल नै पर्याप्त रहेछ । गुरु केवल विद्यालय वा आश्रममा मात्र होइन । जीवनको हरेक भोगाइमा लुकेका हुँदा रहेछन् । बस् ! एकछिन टक्क अडिएर आफूलाई पूर्ण रूपमा नियाल्ने साहस भने गर्नुपर्ने रहेछ । यो दौड धुपयुक्त अस्तव्यस्त जीवनमा आत्मसमीक्षा गर्ने जागरुकताको अनुकम्पा मैले आध्यात्मिक गुरुहरूबाट प्राप्त गरेकी हुँ । ती हरेक भोगाइबाट निष्कर्ष निकाली सुधारिएर अगाडि बढ्ने प्रेरणा उहाँहरूबाट नै पाएकी हुँ । फेरि उहाँहरूसँग जोडिनुमा मेरो पारिवारक पृष्ठभूमि र बाल्यकालको सिकाइको पनि भूमिका छ नै । यसर्थ मेरा माता–पिता, शिक्षक, आध्यात्मिक गुरु र जीवनका भोगाइ सबैलाई नमन गर्छु । आखिर गुरु, गुरु नै हो । गुरुले भनेको मान्नु पर्छ । जीवनको लक्ष्यमा अघि बढ्नुअघि गुरुबाटै प्रेरणा लिनु पर्छ । माता, पिता र शिक्षा दिने गुरुलाई सधैँ सम्मान गरौँ । जसले सम्मान दिन सक्छ, उसले मात्र सम्मान पनि पाउँछ ।