• १२ साउन २०८१, शनिबार

भारत र चीनसँग सम्बन्ध बढाउँछौँ : प्रधानमन्त्री देउवा

blog

डडेल्धुरामा आयोजना गरिएको सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा । तस्वीर : उद्धव बोगटी

हिक्मत सिंह

डडेल्धुरा, कात्तिक १७ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताउनुभएको छ । डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

वैदेशिक सम्बन्धमा सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने उहाँको भनाइ छ । देशको स्वाभिमान बचाउन र संविधानको रक्षा गर्न आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको उहाँले बताउनुभयो ।

पार्टीको विचार फरक फरक भए पनि राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “राजनीतिमा स्थायी शत्रु कोही हुँदैन, त्यसैले माओवादी लगायतका दलसँग गठबन्धन गरिएको हो ।” 

सुदूरपश्चिम विकासका लागि अबको पाँच वर्ष धनगढी–डडेल्धुरा चार लेन सडक निर्माण, पश्चिम सेती परियोजनाको काम सुरुवात, डडेल्धुरामा एयरपोर्ट निर्माण, डडेल्धुरा मेडिकल कलेज सञ्चालन लगायत ग्रामीण सडकहरू कालोपत्रे गरिने प्रधानमन्त्री देउवाले बताउनुभयो ।  


डडेल्धुरामा बिहीबार अयोजित चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवासहित दलका नेताहरु । तस्बिर : हिक्मत सिंह

प्रधानमन्त्री देउवाले २० गतेसम्मका लागि डडेल्धुराका सात वटै स्थानीय तहमा आयोजना गरिएका चुनावी आमसभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधि सभामा प्रधानमन्त्री देउवा, प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र) बाट खगराज भट्ट र प्रदेश सभा (ख) मा कांग्रेसबाट गोविन्द बोहरा उम्मेदवार रहनुभएको छ ।