खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), वैशाख ११ गते । सरकारले भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लागु गरेपछि सीमावर्ती क्षेत्रका नागरिक मर्कामा परेका छन् । खास गरी सीमावर्ती बजार भारतबाट दैनिक उपभोग्य वस्तु ल्याउने नेपाली नागरिकलाई सास्ती भइरहेको यहाँका उपभोक्ताले गुनासो गरेका छन् ।
नेपाली बजारमा भन्दा सीमावर्ती भारतीय बजारमा दैनिक उपभोग्य वस्तु सस्तो पाइने मानसिकताले यहाँका स्थानीय भारतीय बजार धारचुला गएर किनमेल गर्ने गर्छन् । स्थानीयले घरका लागि भारतीय बजारबाट खरिद गरेर ल्याएका दैनिक उपभोग्य सामानमा एक सय रुपियाँभन्दा बढी भएमा भन्सार शुल्क लिन थालेपछि भन्सार कार्यालयको चौतर्फी विरोध भइरहेको छ ।
यसअघि घरायसी सामान खरिद गर्न सीमावर्ती भारतीय बजार पुग्ने स्थानीयले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा कर तिर्नुपर्ने व्यवस्थापछि मारमा परेको गुनासो गरेका छन् । पछिल्ला केही दिनयता सीमानाकामा सशस्त्र प्रहरीले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने भन्दै माइकिङ गरेको तथा सामान ल्याउनमा रोक लगाइरहेको बताइएको छ ।
नेपाली बजारको तुलनामा भारतीय बजारमा सामान सस्तो पाइने भएकाले सीमावर्ती बासिन्दा दैनिक उपभोग्य सामग्री खरिदका लागि त्यहाँ जाने गरेको स्थानीय धनसिंह फर्सवानले बताउनुभयो । नेपालमा इन्धनमा भएको मूल्यवृद्धिले खाद्यान्नलगायतका वस्तुको मूल्यमा समेत वृद्धि भइरहेका बेला यस्तो कडाइले झन् समस्या थपिएको उपभोक्ताले बताएका छन् ।
स्थानीयले घरायसी सामानमा भन्सार नलिन तथा सहुलियत दिन सरकारसँग माग गरेका छन् । नेपाल–भारत सीमामा रोटी–बेटीको सम्बन्धका कारण दुवैतर्फ आफन्त तथा इष्टमित्र रहने हुँदा अहिलेको व्यवस्थाले उनीहरूबिचको आवतजावत र उपहार आदानप्रदानमै समस्या परेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयको मागका आधारमा घरयासी सामानमा भन्सार शुल्क नलगाउन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको तथा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल सकारात्मक रहेको दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले जानकारी दिनुभयो । भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख दिनेश धामीले विभागबाट तथा मन्त्रालयबाट कुनै परिपत्र नभएको तथा पुरानै कानुन अनुसार भन्सार शुल्क लिने गरिएको बताउनुभयो । नेपाली व्यवसायीले भने नियमानुसार लाग्ने भन्सार शुल्क तिर्नुपर्ने बताएका छन् ।