• ११ वैशाख २०८३, शुक्रबार

पत्रकारिताको विकास आवश्यक

blog

तालिम उद्घाटन सत्रमा उपस्थित मन्त्री हिरासिंह सार्कीसहितका व्यक्तित्व ।

धनगढी समाचारदाता

धनगढी, वैशाख ११ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले पत्रकारिताको विकास आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबारदेखि धनगढीमा आयोजना गरेको विकास पत्रकारिता तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आर्थिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा भइरहेको तालिममा सार्कीले भन्नुभयो, “विकास पत्रकारिताको कुरा गर्दा पत्रकारिताको विकास पनि आवश्यक छ ।”

उहाँले हरेक क्षेत्रको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री सार्कीले भन्नुभयो, “पत्रकारको कलमबाटै कुनै चिज शून्यबाट उच्च तहमा र कुनै उच्च तहबाट शून्यमा पुग्ने गर्छ ।” प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै मन्त्री सार्कीले इमानदार भएर आफ्नो धर्म निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो । 

उहाँले पत्रकारिताको विकास र पेसालाई मर्यादित बनाउनका लागि प्रदेश सरकारले आमसञ्चार विधेयकलाई प्रदेश सभामा अगाडि बढाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनअघिको बैठकमा त्यसलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । सदन चलेपछि त्यसमाथि छलफल गरेर विधेयकलाई अगाडि बढाइने छ ।” यो विधेयक पास भएपछि प्रदेशमा एक जना प्रेस रजिस्ट्रार राखिने मन्त्री सार्कीको भनाइ थियो । उहाँले आफू संसद्मा रहँदा वा नरहँदा पनि मिडियालाई सहयोमग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा पत्रकारिताको विकासका लागि आवश्यक बजेट विनियोजन गरिने पनि स्पष्ट पार्नुभयो । दुई दिनसम्म आयोजना हुने तालिममा सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला पत्रकारको सहभागिता रहेको छ । तालिमको सहजीकरण महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले गरिरहनुभएको छ ।