• ११ वैशाख २०८३, शुक्रबार

सुक्न थाल्यो भूमिगत पानीको स्रोत

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख ११ गते । कैलालीमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि पानीको अभाव हुन थालेको छ । पानीको स्रोत नै सुक्न थालेपछि खानेपानीको अभाव सुरु हुन थालेको हो । विभिन्न ठाउँमा रहेको अटिजन बोरिङ र धारा सुक्न थालेपछि शुद्ध खानेपानीको अभाव हुन थालेको गौरीगङ्गा नगरपालिकास्थित झन्झटपुरकी जमुना चौधरीले बताउनुभयो ।

उहाँका अनुसार झन्झटपुर, चमरैयालगायतका गौरीगङ्गाका विभिन्न गाउँमा यस्तो समस्या बढिरहेको छ । उहाँले भन्नुभयो, “अहिले धेरै सुक्खा नलाग्दै धेरै जसो स्थानमा पानी कम आउन थालेका छन् ।” यतिबेला जेठको जस्तो चर्को सुक्खा छैन । खास गरेर जेठ, असारमा तराईमा भूमिगत पानीको स्रोत बढी सुक्ने गर्छन् । सामान्यतः असारमा कृषकले बोरिङको मद्दतले भूमिगत पानी तानेर खेतीपाती गर्न थालेपछि भूमिगत पानीको स्रोत सुक्ने गर्छन् ।

तर यो पटक खेतीपातीको काम सुरु नहुँदै भूमिगत पानीको समस्या देखा परिरहेको चौधरीको भनाइ छ । पछिल्लो समय चुरेमा अत्यधिक दोहन भइरहेको छ । जतापायो उतै डोजर लगाएर सडक खन्नेदेखि लिएर जथाभाबी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्नेे कार्य भइरहेका छन् । चुरे विनाशका कारण पानीको सतह सुक्ने समस्या निम्तिएको विज्ञ डा. लोकबहादुर विष्टको भनाइ छ । उहाँले चुरे दोहनले समग्र पारिस्थितिक प्रणालीमै असर भइरहेको बताउनुभयो । 

कैलाली बहुमुखी क्याम्पस प्रमुखसमेत रहेका विष्टले भन्नुभयो, “चुरे दोहनले जलस्तर घटिरहेको छ । भूमिगत पानीका स्रोत सुकिरहेका छन् । हामीले बेलैमा ध्यान दिन आवश्यक छ ।”