• ११ जेठ २०८१, शुक्रबार

बाजुरा जिल्लामा ४३ अति संवेदनशील मतदानस्थल

blog

जिल्ला निर्वाचन कार्यालय, बाजुरा । तस्बिर – शेरबहादुर सार्की, बाजुरा

शेरबहादुर सार्की

बाजुरा, कात्तिक १७ गते । बाजुराका ७० वटा मतदानस्थलमध्ये ४३ मतदानस्थल अति संवेदनशील छन् । बाजुरा विकट दुर्गम क्षेत्रमा रहेकाले हरेक कुरामा मतदानस्थल निकै संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले, ७० मतदानस्थल मध्ये ४३  अति संवेदनशील, २३ संवेदनशील र ४ मतदानस्थल सामान्य रहेको बताउनुभयो । 

मतदानस्थलमा कुनै घटना नभएको, विद्युत्, सञ्चार, सडक, यातायातको सुविधा, सुरक्षा पुरानो घटना नभएको मतदानस्थललाई सामान्य मतदानस्थलको रुपमा सूचीकृत गर्ने गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लामा चार हजार ८३८ महिला, चार हजार ७२७ पुरुष र दुई अन्य गरी कुल ८३ हजार ५६७ मतदाता छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा १४ हजार ७७ महिला र १५ हजार ८६४ पुरुष गरी कुल २९ हजार ९४१ मतदाता कायम भएका छन् । यी मतदाताका लागि २९ मतदानस्थल तथा ३९ मतदान केन्द्र निर्धारण गरिएको छ । 

त्यसैगरी, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा २६ हजार ७६१ महिला, २६ हजार ८६३ पुरुष र दुई अन्य गरी कुल ५३ हजार ६२६ मतदाता छन् ।  यति मतदाताका लागि ४१ मतदान स्थल तथा ७३ मतदान केन्द्र निर्धारण गरिएको छ । 

बाजुरामा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचनका लागि ७० मतदानस्थलमा ११२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।