• १६ भदौ २०८१, आइतबार

नमुना मतदानमा निर्वाचनको झल्को

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), कात्तिक १७ गते । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी इलामका विभिन्न पालिकाका केन्द्रमा नमुना मतदान सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय इलामले मतदाता शिक्षा दिने र मत बदरको अवस्था बुझ्न नमुना मतदान सम्पन्न गरेको हो। 

निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फुयालका अनुसार बुधबार सूर्योदय नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा नमुना मतदान सम्पन्न भएको छ। उहाँका अनुसार इलामका १० पालिकामध्ये पाँचवटा पालिकाका केन्द्रमा बिहीबार नमुना मतदान गराइनेछ। 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को केन्द्र फिक्कलमा आयोजना गरिएको नमुना मतदान कार्यक्रममा सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले पहिलो मतदान गर्दै स्थानीय मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउनुभयो। उहाँले भन्नुभयो, “मतदान सही तरिकाले गर्नुपर्छ, मत बदर हुनु राम्रो होइन।”

इलाम जिल्ला निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत राजकुमार दाहालले नमुना मतदान गर्दै मतदातालाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिएको बताउनुभयो। 

निर्वाचन कार्यालय इलामका प्रमुख फुयालले सम्पन्न गरिएका नमुना मतदानमा मत बदर शून्यजस्तै रहेको जनकारी दिनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थी, शिक्षक र स्थानीय सहभागीले यस कार्यक्रमपछि आफ्नो घरपरिवार र छरछिमेकमा मतदान गर्ने तरिका सिकाउनुहुनेछ।” 

नमुना मतदानमार्फत मतदातालाई मतपत्र पट्याउन सिकाइएको थियो। सूर्योदय नगरपालिकामा सम्पन्न नमुना मतदानमा निर्वाचन अधिकृतका रूपमा रहनुभएका सूर्योदय नगरपालिकाका आलेप अधिकृत प्रदीप चापागार्इंले नमुना मतदान भए पनि साँच्चै मतदानको झल्को दिइने गरी मतदान भएको बताउनुभयो। 

दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा रहेको इलामको निर्वाचन कार्यालयले कात्तिक १८ बाट मङ्सिर १ सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कार्यालयका अनुसार ८१ वटा वडामै महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा सामग्रीसहित पठाइनेछ। इलाममा दुई लाख २४ हजार ८७७ जना मतदाता छन्। जिल्लामा १५० वटा मतदान स्थल र २८५ वटा मतदान केन्द्र छन्।