• १२ असोज २०८१, शनिबार

घिसिङद्वारा मुगु वितरण केन्द्रकाे अनुगमन

blog

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ निरीक्षण गर्नुहुँदै ।

हरिकृष्ण ऐडी

मुगु, कात्तिक १६ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा गमगाढ वितरण केन्द्रको अनुगमन गर्नुभएको छ ।

असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका वडा नं– ६ मा रहेको गमगाढ जलविद्युतको क्यानल तथा नहरमा क्षति पुगेको थियो ।

अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले अवरुद्ध विद्युत् एक महिनाभित्र मर्मतकार्य सम्पन्न गरेर सुचारु गरिने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले मुगुलाई यसै आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताउनुभयो ।

वितरण केन्द्रले विद्युत् उत्पादन बन्द भएसँगै बुधबारदेखि दैनिक पाँच घण्टा जेनेटरको माध्यमबाट विद्युत् उत्पादन गरेर वितरण गर्ने भएको छ ।

वितरण केन्द्र कार्यालयको जानकारी अनुसार ३ सय २० केभी क्षमताको  जेनेरेटरबाट २ सय ५० किलोवाट विद्युत् उत्पादन हुनेभएको हो ।

वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश पौडेलले उपभोक्ताको सहजताका लागि   वैकल्पिक विद्युत्  उत्पादनका लागि नेपाल विद्युत  प्राधिकरणको जेनेरेटर त्रिशूलीबाट ल्याएर विद्युत्   उत्पादन गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार जेनेरेटरबाट दैनिक चारदेखि पाँच घण्टा विद्युत्  उत्पादन हुँदा दैनिक ६० हजार  रुपियाँ खर्च हुने अनुमान छ । कार्यालय प्रमुखका पौडेलका अनुसार सोही अनुपातले हिसाब गर्दा मासिकमा  १८ लाख रुपियाँ खर्च हुन आउने अनुमान छ ।

वितरण केन्द्र, कार्यालय मुगुका अनुसार अविरल वर्षाले पानी बग्ने क्यानलमा जमिन नै भासिएपछि  १ सय २७ मिटर नहर  पूर्णरुपमा बाढी पहिरोले क्षति पुर्याएको हो । त्यसैगरी २२ मिटर क्यानल पुनः मर्मत गर्नुपर्ने भएको छ साथै १ सय ५ मिटर क्यानलमा सामान्य क्षति पुगेको छ ।

बाढीकै कारण यता गमगाढ वितरण केन्द्रको पावरहाउस आसपासमा राखिएका टान्समिटर लगायत विद्युत्को अर्थिङसमेत बगाएको छ । त्यस्तै गाउँमा विस्तार गरिएका दर्जनौं  विद्युतका पोलसमेत बाढीले क्षति पुर्याएको छ।