• १५ वैशाख २०८१, शनिबार

मिटरब्याज पीडितद्वारा प्रदर्शन

blog

ललिता साह  

बोदेबर्साइन (सप्तरी), कात्तिक १६ गते । मिटरब्याज पीडितहरूले कारबाहीको माग गर्दै मङ्गलबार सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन्। मिटरब्याजी रामदेव साहलगायतलाई यथाशीघ्र कारबाहीको माग गर्दै सप्तरी जिल्ला प्रशासन कार्यालयअगाडि पीडितहरूले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। 

जिल्लाका १८ वटा स्थानीय तहमध्ये सप्तकोसीबाहेक १७ वटै स्थानीय तहमा मिटरब्याज पीडकविरुद्ध दुई सयवटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “वास्तविक पीडितहरू र मिटरब्याजी दुवै पक्षको समस्या बुझेर कारबाहीका लागि अनुसन्धान थालेका छौँ।” बैङ्क तथा वित्तीय संस्थाको ज्ञान नभएका सोझा नागरिकलाई साहुमहाजनले ऋण दिएर चक्रीय ब्याज लिई आठ गुणासम्म बनाउने गरेका छन्। मिटरब्याजीले ऋणीहरूको घर लिलामीसमेत गर्ने गरेका छन्।  

जिल्लाका बैङ्क तथा वित्तीय संस्थाले पुँजीपति वर्ग तथा मिटरब्याजीसँगै मिलेर नाफा कमाउने उद्देश्यले उनीहरूलाई करोडौँ लगानी गर्ने, तल्लो तहका नागरिकमुखी कर्जा नदिएर विभिन्न बहानामा फर्काउने, कर्जा प्रक्रिया झन्झटिलो बनाउने, सम्पत्ति मूल्याङ्कन निकै कम गरिदिँदा गाउँका किसान बैङ्कमा भन्दा साहुसँग जान बाध्य हुनु परेको पीडित रघुनन्दन यादवले गुनासो गर्नुभयो।