• १२ साउन २०८१, शनिबार

सामाजिक सुरक्षा भत्ता समयसापेक्ष बढाउँछौँ : अध्यक्ष ओली

blog

झापामा भएको एक कार्यक्रममा अध्यक्ष ओली । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १४ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तालाई समयसापेक्ष बढाउँदै लैजाने र पाको उमेरमा अरुको भर नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । गर्न सकुन्जेल अरुको आशा गर्न नहुने र नसकेका दिन भरथेग हुने किसिमको दायित्व राज्यले लिने उहाँले बताउनुभयो । 

केही दिन यता आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ अन्तर्गत दमक, गौरादह, कमल र गौरीगन्ज पालिकामा भएका कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । झापाको गौरादहमा भएको एक कार्यक्रममा स्थानीय सरस्वती ओझाले ६० वर्षको उमेरमा वृद्धभत्ता दिनुपर्ने माग राख्नुभयो । 

अध्यक्ष ओलीले यसले मुलुकलाई ठूलो आर्थिक भार पर्ने बताउँदै यो उमेरमा वृद्धभत्ता आशा नगर्न अनुरोध गर्नुभयो । “हामी नेपालीको औसत आयु ७२ वर्ष पुगिसकेको अवस्था छ, यसर्थ ६० वर्षमा भत्ताको आशा गर्नुहुँदैन” ओलीले भन्नुभयो । 

आफू ७१ वर्षको भए पनि अहिले पनि खनजोत गर्न सक्ने र दैनिक ६ किलोमिटरसम्म हिंड्न सक्ने बताउनुभयो । ७० वर्ष पुगेका सबैलाई हामी कम्तीमा पनि आउँदो वर्षभित्र ५ हजार मासिक वृद्धभत्ता दिन्छौं, उहाँको भनाइ छ । 

सकुञ्जेल हामीले आफैँ गर्ने हो, नसकेको दिन राज्य छ भन्ने आभास गराउनुपर्छ, ओलीले थप्नुभयो, “उमेर घटाएर वृुद्धभत्ता लिने सोच त्याग्नुपर्छ । अशक्त हुँदा र उमेर धेरै भएको अवस्थामा खान लाउनका लागि छोराछोरीको आश गरिरहनु नपर्ने अवस्था ल्याउन हामी लागेका छौं र लाग्छौं ।”

ओली लगातर ३ दिनसम्म आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भएर सोमबार काठमाडौं फर्किनुभएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । उहाँले तीन दिनको अवधिमा १५ भन्दा बढी कार्यक्रममा सहभागी हुनुभयो ।