• २५ वैशाख २०८१, मङ्गलबार

काठमाडौँ छिर्दै पञ्जाब र हरियाणाको धुवाँ

blog

काठमाडौँ, कात्तिक १३ गते । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ। यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन्। विशेषगरी कात्तिक र मङ्सिर महिनामा पराल जलाउने गरिन्छ। तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन। पराल जलाउनेक्रममा दुर्घटनासमेत निम्तिने गरेका छन्। नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउनेक्रममा २२२ वटा दुर्घटना भएका थिए। यो वर्ष पनि किसानले पराल जलाउन सुरु गरिसकेका छन्। त्यसबाट निस्केको धुवाँ सीमावर्ती क्षेत्रमा छिर्न थालेको छ। 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भन्नुभयो, “पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पराल डढाउने कार्य सुरु भएको देखिन्छ। यसबाट निक्लने प्रदूषित हावा केही समयमा काठमाडौँलगायत देशका धेरै क्षेत्रसम्म आउने सम्भावना देखिन्छ।” पराल जलाउनुको सट्टा भारत सरकारले अन्य विकल्प खोज्नुपर्ने र यो क्षेत्रीय समस्या भएकाले नेपाल सरकारले पनि आवाज उठाउनुपर्ने पोखरेलले बताउनुभयो। परालको धुवाँबाट हावा प्रदूषित भएपछि नागरिकको श्वासप्रश्वासमा प्रत्यक्ष असर पर्छ। साथै निमोनिया, क्यान्सरलगायतका प्राणघातक रोगसमेत निम्तिन सक्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ। 

नेपालमा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापकहरूसमेतको संलग्नतामा भएको अध्ययनबाट हरियाणा र पञ्जाबमा जलाइने परालको असर नेपालसहित अन्य मुलुकमा समेत पर्ने गरेको उल्लेख गरिएको छ। भारतको उत्तरप्रदेशमा कृषि अवशेष जलाउने मौसममा मध्य हिमाली क्षेत्रमा वायु प्रदूषणको असरसम्बन्धी उक्त अध्ययन प्रतिवेदनमा वायु प्रदूषण न्यूनीकरण गर्न नेपाल र भारतबीच सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ। सन् २०१८ मा उत्तर–पूर्वी एसियाली मुलुकबीच स्वच्छ हावाका लागि सहकार्य गर्ने विषयमा सम्झौता भएको थियो। सोही सम्झौताअनुसार सहकार्य भएमा वायु प्रदूषण न्यूनीकरण गर्न सकिने सहप्राध्यापक पोखरेलसमेत संलग्न हुनुभएको उक्त प्रतिवेदनले सुझाव दिएको छ। हरियाणा भारतको धेरै जनसङ्ख्या भएको सहरमा पर्छ।  

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।