• १९ फागुन २०८०, शनिबार

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

blog

टीकापुर, कात्तिक ११ गते । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यान पर्ने बताए ।

छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चापागाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताउनुभयो । उहाँले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताउनुभयो । 

“जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ । यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ ।” मानिस अल्छी बन्दै गएकाले भएको जग्गाजमिन मासिँदै जान थालेको, अवसरवादी र सुविधा भोगी बन्न थालेका उहाँको भनाइ छ । 

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले दिगो विकास उत्पादकत्व बढेपछि हुने भएकाले अनि मात्र आर्थिक विकास सम्भव भएको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन जरुरी रहेको उल्लेख गर्दै राज्यले दिने कृषितर्फका सेवामा पनि नक्कली किसान तयार भएकाले समस्या भएको बताउनुभयो । 

“यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ लगानी गरेको छ । कृषितर्फ दिइने अनुदान खान नक्कली किसान बनेका छन्”, उहाँ भन्नुहुन्छ, “वास्तविक किसान मर्कामा परेका छन्, कृषिको लगानी सदुपयोग भएन, सदुपयोग नभए उत्पादन बढ्ने कुरा भएन, अनि कसरी समृद्धि हुन्छ ।”

वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारीले विकास एकीकृत पाटोबाट सँगसँगै जानुपर्ने तर यहाँ फरक–फरक तरिकाले पटक–पटक संरचना बन्दा पनि स्थानीय सरकार हेरेर बस्ने गरेको आरोप लगाउनुभयो । उहाँले नगरपालिका बलियो हुनुका साथै विकासका कार्यमा कडाइ गर्न आवश्यक रहेको बताउनुभयो । 

“एउटै सडक पटक–पटक खनिन्छ, कहिले खानेपानी, कहिले टेलिकम, कहिले विद्युत्, कहिले कसैले, यसरी पटक–पटक किन बनाउनु रु”, भण्डारी भन्नुहुन्छ, “स्थानीय सरकारले एक खालको मापदण्ड बनाएर सबै संरचना एकैसाथ बनाएको भए विकास दिगो हुन्थ्यो । नागरिकलाई पनि कम सास्ती हुन्थ्यो ।”

उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका संयोजक एकिन्द्र तिमिल्सिनाले टीकापुरमा भएको विकास जति यहाँकै स्रोतबाट बनेकाले सन्तोषजनक रहेको बताउनुभयो । उहाँले यहाँ तीन थरिका मानिस रहेका उल्लेख गर्दै गर्न चाहनेलाई सहयोग नभएको बताउनुभयो । “यहाँ बनेका क्याम्पस, विद्यालय, अस्पतालजस्ता संरचना यहाँकै जमिन बेचेर बनेका हुन् । अन्य सहयोग र लगानी भित्रिएको छैन, त्यो हिसाबले सन्तोषजनक छ”, उहाँ भन्नुहुन्छ, “यहाँ गर्न चाहनेसँग आर्थिक श्रोत छैन, भएकाहरूलाई पुगेकाले गर्ने इच्छाशक्ति छैन, यसले समस्या भइरहेको छ ।”

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोभा शर्मा ज्ञवालीले आफूहरूले सहकारीमार्फत शुद्ध तोरीको तेल पेल्ने मेसिनसमेत सञ्चालनमा ल्याएको बताउनुभयो । “हामीले आफ्नै लगानीबाट उद्योग स्थापना गरेका छौँ, यसरी काम गरिरहेका हामीलाई सरकारले अनुदान, सहयोगजस्ता कार्यमा सघाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “लगानी गरिए हामी रोजगारीको वातावरण सिर्जना गर्न तयार छौँ ।”