• २० जेठ २०८१, आइतबार

नेदरल्यान्ड्समाथि बंगलादेशको रोमाञ्चक जित

blog

नेदरल्यान्ड्सलाई हराएपछि बंगलादेशका खेलाडी । तस्बिर : आईसीसी

काठमाडौं, कात्तिक ७ गते । बंगलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–१२ मा विजयी सुरुवात गरेको छ । अष्ट्रेलियाको होबार्ट क्रिकेट मैदानमा सोमबार भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्समाथि नौ रनको रोमाञ्चक जित निकालेको हो । 

जितका लागि एक सय ४५ रनको मध्यम लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो । नेदरल्यान्ड्सका कोलिन एकरम्यानले ६२ रन बनाउनुभयो ।

पाउल भान मार्किनले २४ र कप्तान स्कट एडर्वाड्सले १६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउनु सक्नुभएन । बलिङमा बंगलादेशका तस्किन अहमदले चार विकेट लिनुभयो । हसन मोहम्मदले दुई तथा सकिव अल हसन र सौम्य सरकारले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । बंगलादेशका लागि अफिफ हुसैनले ३८ रन, नाज्मुल हसन सान्टोले २५, मोसादक हुसेनले २० र सौम्य सरकारले १४ रन बनाउनुभयो । 

बलिङमा नेदरल्यान्ड्का पाउल भान मार्केन र बास डी लिडेले दुई दुई विकेट लिनुभयो । फर्द क्लासेन, टिम प्रिङगल, शरिज अहमद र लोगन भान विकले एक एक विकेट लिनुभयो । सुपर १२ मा बङ्गलादेश समूह ‘बी’ मा रहेको छ । यस समूहमा बङ्गलादेश र नेदरल्यान्ड्ससँगै भारत, पाकिस्तान, दक्षिण अफ्रिका र जिम्बावे छन् ।

आजै अफ्रिका र जिम्बावेबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’मा श्रीलङ्का, आयरल्यान्ड, न्युजिल्यान्डसँगै आयोजक अष्ट्रेलिया, इङ्ल्यान्ड र अफगानिस्तान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । एजेन्सी