म्याग्दी (बेनी), असार ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ ।
लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो । लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताउनुभयो ।
“घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको छ, मुहानदेखि ट्याङ्की हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ”, अध्यक्ष रञ्तिजाले भन्नुभयो ।
गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । मङ्गलबार एक समारोहका बीच नवनिर्मित खानेपानी आयोजनालाई समुदायमा हस्तान्तरण गरिएको छ ।
गत चैत २९ गतेदेखि निर्माण सुरु भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको रु ५० लाख ५४ हजार ३०४ र स्थानीयवासीको १० लाख ९२ हजार ८०० बराबरको श्रमदान गरी कूल रु ६१ लाख ४७ हजार एक सय चार लगानी भएको छ । आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायतका पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरु गरेको छ ।
आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ । नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरुपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उत्तमलाल श्रेष्ठले जानकारी दिनुभयो ।
“हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरुप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छाँै”, उहाँले भन्नुभयो । यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरुमा बाहिरबाट कुनै पनि फोहरभित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ ।
आयोजना निर्माण सुरु भएको दुई महिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासीहरू उत्साहित भएका छन् । गाउँको शिरानमा रहेको पानीखाना मूलबाट पानी ल्याएर १० हजार र छ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमूना जिरेलले जानकारी दिनुभयो ।
यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्याङ्कीहरुको संरक्षण गरिएको छ । योजनाका दिगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ । रासस