• १० मंसिर २०८१, सोमबार

देउसीभैलोको मौलिकता हराउँदै

blog

काठमाडौँ, कात्तिक ७ गते । 

हे भन भन भाइ हो, देउसी रे 

हे राम्ररी भन, देउसी रे

स्वर मिलाई भन, देउसी रे...

देउसीको यो लोकभाका तिहार आएसँगै गुञ्जायमान हुन्छ । देउसीभैलोको सुरुवातबारे फरक–फरक श्रुति परम्परा छन् । भौगोलिक क्षेत्र, विभिन्न जाति, जनजातिअनुसार देउसीभैलो खेल्ने शैली पनि फरक–फरक छन् । यसले पनि जनाउँछ– देउसीभैलोमा विविधता छ । देउसीभैलो जहाँबाट सुरु भए पनि तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो, देउसी । 

“सहरबजारमा अचेल 

सुरिलो स्वरमा देउसी भट्याउने, मादल र खैँजडीको तालमा नाच्दै देउसी खेल्ने समूह देख्न मुस्किल छ,” संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःको गुनासो छ । तर गाउँघरमा देउसीभैलोको रौनक कायम छ । “साँच्चिकै रमाइलो गरिने मौलिक देउसीभैलो हराइसक्यो,” ग्वंगः भन्नुहुन्छ, “अहिले देउसी भन्न पनि छाडिसके । क्यासेट प्लेयर घन्काउँदै आउँछन् देउस्याहाहरू । यो देउसीको मौलिकता हराउँदै गएको सङ्केत हो ।” “मलाई खेलिने देउसीभैलो खासै मन पर्दैन,” उहाँ थप्नुहुन्छ, “देउसीभैलो मन नपर्नुको मुख्य कारण हो, मौलिकता नहुनु । अहिले खेलिने देउसीभैलोमा मौलिकता केही छँदै छैन, युवा जमात मौलिकता छाडेर डिस्को नाच्न थालेको छ ।”

देउसीको मौलिकता पूरै हराएको गुनासो गर्दै ग्वंगःले भन्नुभयो, “उहिले मादल ठटाउँदै, स्वर सुक्ने गरी देउसी खेल्थे । अहिले त्यतिविधि दुःख कसले गरोस् ।” बरु पछिल्लो समय देउसीको लयात्मकता रक र पपमा रूपान्तरित भएको उहाँले बताउनुभयो । प्रविधिले देउसीको मौलिकतालाई धेरै असर परेको छ । जनवादी गायक तथा सङ्गीतकार रामकृष्ण दुवालले पनि देउसीभैलोमा रमाइलो नलाग्ने बताउनुभयो । “पहिले हामी समूह बनाएर देउसीभैलो खेल्न जान्थ्यौँ, सबैले गीत गाउथ्यौँ, मादलको तालमा सबै नाच्थ्यौँ, धेरै रमाइलो थियो तर अहिलेको युवा पुस्तालाई मादल र सुर ताल भनेकै थाहा छैन ।” 

दुवालका अनुसार मौलिक पर्वहरूमा देखिएको सांस्कृतिक विचलनबाट तिहार पनि अछूतो छैन । विदेशी संस्कृतिले अतिक्रमण भइरहेका बेला तिहारको विशेषता झल्काउँदै खेलिने देउसीभैलो अनि त्यसबाट उठेको रकमले समाज निर्माणमा सघाउ पु‍र्याउने अग्रजहरूको चलन पछ्याउनेहरू भेटिनै छाडेका छन् । “देउसी र भैलोमा सुनिने सुमधुर स्वरहरू डिस्को, पप र ‍¥यापमा गुञ्जिन थालेका छन्,” दुवालले भन्नुभयो, “मादल, खैँजडी र मुर्चुंगाको लयमा बज्ने तिहारका गीतहरू अचेल गितार, पियानो र अरू पश्चिमा धुनहरूमा बदलिएका छन् ।”

साथीभाइसँग मिलेर देउसी खेल्न रुचाउने युवकयुवती पनि अचेल घट्दै छन् । देउसीभैलो खेलेर रमाइलो गर्नुको साटो, इमेल र इन्टरनेटमा झुम्मिन्छन् । आधुनिकताका नाममा देउसीका भाका र खेल्ने तरिका बदलिएका छन् । कतिपय देउसी समूहले गर्ने उच्छृङ्खलताले देउसीलाई नकारात्मक रूपमा हेर्नेहरू पनि बढेका छन् । 

समाजशास्त्री राजु मिश्र देउसीभैलोमा आएको परिवतर्नलाई स्वाभाविक ठान्छन् । समयको चक्रसँगै हरेक संस्कार र संस्कृतिमा परिवर्तन हुँदै जानु सामाजिक प्रवृत्ति हो । “संस्कृति सधैँभरि एउटै प्रकृतिको रहिरहँदैन । समयअनुसार परिवर्तन भइरहन्छ,” मिश्र भन्नुहुन्छ, “पहिले यसरी देउसी खेलिन्थ्यो, अहिले यसरी खेलियो भन्नु गलत हो । समयचक्रअनुसार संस्कृति परिस्कार र परिमार्जन हुँदै जान्छ ।”