• २३ वैशाख २०८१, आइतबार

चाडपर्वको समयमा महँगियो तरकारी

blog

बर्दिबास समाचारदाता

बर्दिबास, कात्तिक ५ गते । राजधानीलगायत अन्य प्रमुख सहरमा तरकारी आपूर्ति गर्दै आएको यो जिल्लामा तरकारीको भाउ निकै चर्काे भएको छ। चाडपर्वको मौसम सुरु भएसँगै जिल्लामा तरकारीको मूल्य आकाशिएपछि यो जिल्लाबाट तरकारीमा भर पर्ने अन्य स्थानमा त्यसको प्रभाव पर्ने भएको छ। गौशाला नगरपालिका–१० का व्यावसायिक तरकारी कृषक दिनेश महतोका अनुसार असोज अन्तिम साता परेको अविरल वर्षाका कारण तरकारीको मूल्य आकाशिएको हो। 

बेमौसमी वर्षाले तरकारीका फूल झारेको र खेतमा पानी जम्दा बोट सुकेपछि उत्पादनमा ह्रास आएको उहाँको भनाइ छ। अहिले तरकारी कृषकले समेत किनेर खानु परेको छ। स्थानीय बालीमा क्षति भएपछि बाह्य जिल्लाबाट आयातित तरकारी खान यहाँका उपभोक्ता बाध्य छन्। यो वर्ष स्थानीय बजारमा दशैँसम्म मूल्य खासै बढेको थिएन। त्यसपछिका दिनमा भने हरियो तरकारीको भाउ तीन सय प्रतिशतसम्म बढेको छ। 

असहज आपूर्ति र नजिकिँदो तिहार र छठको मागलाई हेर्दा तत्काल मूल्य घट्ने सम्भावना कम रहेको तरकारी व्यापारीको भनाइ छ। दैनिक आवश्यक पर्ने तरकारीको अस्वभाविक मूल्य वृद्धिले आम उपभोक्ता मारमा पर्न थालेका छन्। 

तरकारीको मूल्य बढ्नुमा असोज अन्तिम साता परेको वर्षा नै मुख्य कारक मानिएको छ। वर्षाअघि प्रतिकिलोको ३० रुपियाँमा बिक्दै आएका भिन्डीको भाउ अहिले ८० रुपियाँ पुगेको छ। प्रतिकिलोको ५० देखि ६० रुपियाँ पर्ने तितेकरेला १५० रुपियाँ प्रतिकिलो पुगेको व्यापारीहरूले बताएका छन्। 

प्रतिमुठाको पाँच रुपियाँ पर्ने रायो साग ३० देखि ५० रुपियाँ पुगेको छ भने आलु प्रतिकिलो ३५ रुपियाँबाट बढेर ५० रुपियाँ, ३० रुपियाँको भण्टा ५० रुपियाँ पुगेको छ। 

प्रतिकिलो ५० रुपियाँ पर्ने बोडी १०० रुपियाँ, फर्सी ३५ बाट बढेर ७५ रुपियाँ, काउली १२० रुपियाँ र गोलभेडा एक सयदेखि १२० रुपियाँ र बन्दा कोभी ४५ रुपियाँ पुगेको छ। तरकारी उत्पादनको पकेट क्षेत्र मानिने गौशालाको बजारमा स्थानीय मूलाको भाउ आकाशिएर एकैपटक ३० रुपियाँबाट १०० रुपियाँ पुगेको छ। 

प्रतिकिलो पाँच सय रुपियाँ पुगेको हरियो धनिया पातको मूल्य अचाक्ली बढेको छ। व्यापारीले एउटा धनियाको बोट २० देखि २५ रुपियाँमा बेच्दै आएका छन्। बर्दिबासको साप्ताहिक हाटमा तरकारी पसल गर्दै आउनुभएकी निरु खड्काले भन्नुभयो, “हरियो धनियाँको मूल्य अचाक्ली तरिकाले वृद्धिले हामीलाई नै चकित पारेको छ।” 

महोत्तरीको गौशाला, बर्दिबासको ग्रामीण भेग, मटिहानीको धिरापुर, धमौरा, भङ्गाहा, समसी, बलबा, लोहपट्टी तरकारीका पकेट क्षेत्र हुन्। जलेश्वरस्थित कृषि ज्ञान केन्द्र प्रमुख डा. रामचन्द्र यादवका अनुसार यी क्षेत्रका १७ हजार आठ सय हेक्टरमा व्यावसायिक तरकारी खेती हुने गरेको छ। 

चाडवाडका बेला हरिया तरकारीको खपत बढी हुने र कृषकले दोस्रो पटक लगाएको तरकारी बजारमा आउन ढिला हुने भएकाले तत्काल यसको मूल्यमा गिरावट आउने सम्भावना कम देखिएको व्यापारीहरू बताउँछन्।