बनेपा समाचारदाता
बनेपा, वैशाख १८ गते । काठमाडौँलाई पूर्वी तराई तथा पहाडी जिल्लासँग जोड्ने बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाउँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् । २०८१ असोज १०–१२ को बाढीले बिपी राजमार्गको भकुण्डे (१ नम्बर पुल) देखि नेपालथोकसम्मको सडकमा क्षति पुगेपछि सामान्य वर्षामा समेत सर्वसाधारणले यात्रा गर्दा सास्ती खेप्नु परेको हो ।
बाढीले क्षति गरेको राजमार्ग पुनर्निर्माणको काम भइरहँदा गत वर्ष वैशाखदेखि हालसम्मको एक वर्षको अवधिमा वर्षाका कारण एक दर्जन पटक राजमार्ग अवरुद्ध भएको छ भने जिल्ला सुरक्षा समितिको बैठक बसेर चार पटक राजमार्ग बन्द गराइएको छ । रोसी खोलाको माथिल्लो क्षेत्र बनेपा, पनौती, धुलिखेल, बेथानचोकलगायतका स्थानमा वर्षा हुँदा राजमार्गमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ ।
साथै स्थानीय प्रशासनले समेत राजमार्गमा यात्रा गर्ने सवारीसाधन र यात्रुमा हुने जोखिम कम गर्नका लागि स्थानीय प्रशासनले राजमार्ग बन्द गर्ने गरेको छ । जिल्लास्थित सुरक्षा निकायको तथ्याङ्क अनुसार गत वर्ष वैशाख ५ गतेदेखि ६ गतेसम्म एक दिन, वैशाख १२ देखि १४ गतेसम्म करिब ३६ घण्टा, साउन ४ गते करिब डेढ घण्टा, भदौ १२ गते करिब १२ घण्टा सडक पूर्ण रूपमा बन्द रहेको थियो । यस्तै जिल्ला सुरक्षा समितिको बैठकले गत वर्ष असार ६ गतेदेखि भदौ मसान्तसम्म, असोज महिनाको १६ गतेदेखि १८ गतेसम्म रातको समयमा यातायात बन्द गरेको हो ।
यसै गरी चैत महिनाको ७ गते चार घण्टा, १३ गतेदेखि १४ गतेसम्म एक दिन, चैत १५ गते चार घण्टा राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो । वैशाख महिनामा १२, १३ र १४ गते राजमार्ग पूर्ण र आशिंक रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पुनर्निर्माण भइरहेको बिपी राजमार्गमा हाल रोसी खोलाको किनारबाट डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएकाले बनेपालगायतका क्षेत्रमा वर्षा हुनेबित्तिकै राजमार्गमा सवारी आवागमनमा रोक लगाउने गरिएको बताउनुभयो । उहाँले वर्षाका कारण हुन सक्ने क्षतिलाई कम गर्नका लागि सुरक्षा समितिको बैठकले रातको समयमा समेत राजमार्ग बन्द गर्ने गरेको बताउनुभयो ।
पछिल्लो समय बनेपाआसपासका क्षेत्रमा वर्षा सुरु भएसँगै जिल्ला प्रहरी कार्यालयले राजमार्गमा हुन सक्ने क्षति कम गर्नका लागि राजमार्ग बन्द गराउँदै आएको छ । बाढीले क्षति गरेको बिपी राजमार्गको काभ्रेपलाञ्चोकतर्फ १ नम्बर पुल, चौकीडाँडा, गिम्दीबेँसी, चारसयबेँसी, कालढुङ्गा, घुमाउने, बोक्सीकुनासम्मको २५.११ किलोमिटर सडक क्षति गरेको थियो भने सिन्धुलीतर्फ नेपालथोकदेखि काभ्रेपलाञ्चोकको सिमानासम्मको करिब चार किलोमिटर सडकमा क्षति पुगेको थियो । बनेपाआसपासका क्षेत्रमा वर्षा भएसँगै रोसी खोलामा पानीको बहाब बढ्दा चौकीडाँडादेखि नेपालथोकसम्म निर्माण गरिएको अस्थायी डाइभर्सन सडक बगाउँदा यात्रुहरू मर्कामा पर्दै आएका छन् ।
बाढीले क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार खण्डमा र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माणको काम भइरहेको छ । राजमार्ग पुनर्निर्माणको काम भइरहेकाले तत्कालका लागि रोसीखोला किनारमा अस्थायी डाइभर्सन सडक निर्माण सञ्चालन गर्दै आएकाले सामान्य वर्षामा समेत डाइभर्सन बगाएर यातायात अवरुद्ध हुँदै आएको छ । बिपी राजमार्गको वैकल्पिक सडक नहुँदा राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन र यात्रु राजमार्गमा नै फस्ने गरेका छन् ।