• १८ वैशाख २०८३, शुक्रबार

‘छोरी सशक्तीकरण र युवा उद्यमशीलता प्रमुख प्राथमिकतामा’

blog

अस्मिता पोखरेल 

धादिङबेँसी, वैशाख १८ गते   । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बन्नुभएकी सीता थपलिया (उर्मिला) शिक्षित, स्वस्थ र आत्मनिर्भर नागरिक निर्माण गर्न सके समृद्ध राष्ट्रनिर्माण सम्भव हुने धारणा राख्नुहुन्छ । छोरी सशक्तीकरण र युवा उद्यमशीलतालाई आफ्नो प्रमुख राजनीतिक प्राथमिकता बताउने उहाँ धादिङको सिद्धलेक गाउँपालिका–१ मा जन्मिनुभएको हो । 

 स्नातक तहसम्मको अध्ययन पूरा गरेकी उहाँले छोरीलाई परिवार, समाज र राष्ट्रको भविष्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छोरीहरू केवल परिवारको जिम्मेवारी होइनन्, उनीहरू समाज र राष्ट्रको भविष्य हुन् । गुणस्तरीय शिक्षा, सिपमूलक तालिम र सहज स्वास्थ्यसेवामा उनीहरूको पहुँच सुनिश्चित गरिनु पर्छ ।”

उहाँका अनुसार शिक्षित र स्वस्थ छोरीले मात्र आत्मविश्वासका साथ निर्णय लिन सक्छन् । नेतृत्व गर्न, समाजलाई सही दिशातर्फ अघि बढाउन सक्छन् । त्यसैले शिक्षा र स्वास्थ्यलाई आधार मानेर छोरी सशक्तीकरणमा जोड दिनु अत्यावश्यक छ ।

 युवालाई उद्यमशीलतातर्फ अग्रसर गराउँदै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आफ्नो अर्को प्राथमिकता रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिले धेरै युवा बाध्यताले विदेश पलायन भइरहेका छन् । जसले देशको सम्भावनालाई कमजोर बनाइरहेको छ । त्यसै अब युवालाई आफ्नै देशमै अवसर देखाउने, उनीहरूको सिप र क्षमतालाई उपयोग गर्ने तथा उद्यमका लागि आवश्यक ज्ञान, तालिम, लगानी र नीतिगत सहयोग उपलब्ध गराउनु पर्छ ।”

उहाँले बिदेसिएका युवालाई पुनः स्वदेश फर्काएर यहाँकै स्रोत, सम्भावना र बजारको उपयोग गर्दै उद्यममा लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । शिक्षा प्रणालीलाई व्यावहारिक, सिपमुखी तथा स्वास्थ्यक्षेत्रलाई सुदृढ र पहुँचयोग्य बनाउँदै लैजानु छ । हरेक युवा स्वस्थ, दक्ष र आत्मनिर्भर बन्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थपलियाले विद्यार्थी आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । आन्दोलनका क्रममा गम्भीर घाइते भई लामो समय उपचारमा बस्नु परेको तथा अश्रुग्यासको असरले देब्रे कानमा स्थायी समस्या देखिएको छ ।

उहाँको राजनीतिक यात्रा नेविसङ्घको नीलकण्ठ मावि एकाइ उपाध्यक्ष (२०५४) बाट सुरु भई नेपाल विद्यार्थी सङ्घ जिल्ला तहदेखि केन्द्रीय नेतृत्वसम्म विस्तार भएको छ । उहाँ नेपाल विद्यार्थी सङ्घको केन्द्रीय उपाध्यक्ष र महामन्त्री हुँदै २०७९ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत बन्नुभएको थियो ।

राजनीतिसँगै लेखन र सामाजिक अभियानमा समेत सव्रिmय थपलियाका विभिन्न कृति प्रकाशित छन् । छोरी सशक्तीकरण, युवा रोजगारी र उद्यमशीलता विकासमार्फत समृद्ध राष्ट्रनिर्माण गर्ने स्पष्ट दृष्टिकोणका साथ आफू अघि बढिरहेको उहाँले बताउनुभयो ।