• १६ चैत २०८०, शुक्रबार

मुस्ताङमा युवा र पाका नेतृत्वबीच भिडन्त

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक ३ गते । हिमालपारी्कोरि जिल्ला मुस्ताङमा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अनुभवी नेतृत्वविरुद्ध युवा उम्मेदवार प्रतिस्पर्धामा उत्रिनुभएको छ । नेपाली कांग्रेसका ४० वर्षमुनिका युवा उम्मेदवार नेकपा (एमाले) बाट ५० वर्ष माथिका अनुभवी र पाका राजनीतिकर्मी चुनावी मैदानमा होमिनुभएको छ । 

एमाले र कांग्रेसका मुख्य प्रतिस्पर्धी रहेको मुस्ताङमा यस पटक अनुभवीविरुद्धमा युवाको भिडन्त हुने कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीले बताउनुभयो । “प्रतिस्पर्धाको हिसाबले हेर्दा अन्य पार्टीको उपस्थिति सामान्य मात्रै हो, मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै हो” सभापति गौचनले भन्नुभयो । 

कांग्रेसले प्रतिनिधिसभाका लागि २९ वर्षीय युवालाई अघि सारेको छ । हालै २९ वर्ष प्रवेश गर्नुभएका थासाङ गाउँपालिकाका योगेश गौचन कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ ।

२०५६ को निर्वाचनमा कांग्रेसका रोमी गौचनले जित्नुभएको मुस्ताङमा २०६४ को संविधानसभा पहिलो निर्वाचनमा एमालेका चन्द्रबहादुरु गुरुङ विजयी हुनुभएको थियो । त्यस्तै, २०७० मा रोमी गौचनले जित्नुभएको थियो भने २०७४ को प्रतिनिधिसभामा प्रेमप्रसाद तुलाचन र प्रदेश सभामा इन्द्रधारा डादु विष्ट र महेन्द्रबहादुर थकालीले एमालेबाट विजयी हुनुभएको थियो ।

कांग्रेस सभापति गौचन मुस्ताङबाट २०५६ मा निर्वाचित हुनुभएको थियो । २०६३ मा अन्तरिम सांसद बन्नुका साथै २०७० मा विजयी हुँदा ११ वर्षसम्म मुस्तााङबाट सांसद हुँदै मन्त्रीसम्म हुनुभयो । २०४७ मा प्रजातन्त्र पुनर्बहालीपछि भएका निर्वाचनमध्ये २०४८ मा एमालेका ओमविकास गौचन विजयी हुनुभएको थियो । 

त्यसपछि २०५१ मा कांग्रेसबाट सुशीलमान शेरचन, २०५६ मा कांग्रेसबाट रोमी गौचन, २०६४ मा एमालेका  चन्द्रबहादुर गुरुङ, २०७० मा कांग्रेसका रोमी गौचन र २०७४ मा एमालेका प्रेमप्रसाद तुलाचन विजयी हुनुभएको एमाले मुस्ताङका अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो । 

२०५१ र २०५६ मा कांग्रेसले लगातार जितेको भए पनि त्यसभन्दा पछाडिको निर्वाचनमा भने एमाले र कांग्रेसले पालैपालो जित्दै आएको मुस्ताङमा यस पटक पनि कांग्रेस र एमाले बीचमै प्रतिस्पर्धा हुनेदेखिएको एमाले अध्यक्ष थकालीको भनाइ छ ।

कांग्रेस तर्फबाट उम्मेदवार तीनै जना ४० वर्षमुनिका हुनुहुन्छ । कांग्रेसका तर्फबाट प्रदेश सभा (क) का उम्मेदवार नम्डु गुरुङ ३३ वर्षको हुनुभयो । प्रदेश (ख) का उम्मेदवार विकल शेरचन ३९ वर्षका हुनुभएको छ । 

मुस्ताङको सबैभन्दा कान्छा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ २५ वर्षको हुनुहुन्छ । एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार प्रेमप्रसाद तुलाचन जिल्लाका नौ जना उम्मेदवारमध्येमा पाको अर्थात् ६० वर्षको हुनुहुन्छ । त्यस्तै प्रदेश (क) मा इन्द्रधारा डादु विष्ट ५३ वर्षको हुनुहुन्छ । प्रदेश (ख) का उम्मेदवार चन्द्रमोहन गौचन ५५ वर्ष पुग्नुभएको छ । 

प्रतिनिधिसभा उम्मेदवार तुलाचनले २०७४ मा कांग्रेसका सभापति रोमी गौचनलाई पराजित गरी विजयी हुनुभएको थियो । प्रदेश (ख) का उम्मेदवार चन्द्रमोहन गौचन दोस्रो संविधानसभा निर्वाचन–२०७० मा कांग्रेसका सभापति गौचनसँग पराजित हुनुभएको थियो ।