• २२ वैशाख २०८१, शनिबार

दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट राराबाट सार्वजनिक गरिने

blog

नवीन सुवेदी 

सुर्खेत, कात्तिक ३ गते । दशौँ राष्ट्रिय खेलकुद २०८१ को लोगो तथा मस्कट रारातालबाट सार्वजनिक गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बिहीबार पोखरामा बसेको बैठकले स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल रारामा लोगो र मस्कट सार्वजनिक गर्ने निर्णय गरेको हो ।

रारामा हुने राष्ट्रिय खेलकुद परिषद्को बैठकको सञ्चालन कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले गर्नेछ । गण्डकी प्रदेशको पोखरामा असोज २८ गतेदेखि सुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन हुँदैछ ।

उक्त समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा दिने कार्यक्रम रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र संज्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनसँगै अब कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएको छ । योभन्दा अगाडि कर्णालीमा विभिन्न समयमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता हुने हल्ला चले पनि निश्चित भएको थिएन ।