• १३ साउन २०८१, आइतबार

उम्मेदवारहरु भोट माग्न घरदैलोमा व्यस्त

blog

घरदैलोमा व्यस्त उम्मेदवार । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, कात्तिक १ गते । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बन्नुभएको हो ।  

दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुगिरहनुभएको छ । यस्तै, स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाताको घरमा पुगेर मत मागिरहनुभएको छ ।   

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले आफू निरन्तर घरदैलो कार्यक्रममा व्यस्त रहेको बताउनुभयो । ‘पार्टी कमिटीले आयोजना गरेको कार्यक्रमसँगै मतदातालाई भेट्न घरदैलो कार्यक्रममा व्यस्त बनेको छु’ उहाँले भन्नुभयो ।  

सोही क्षेत्रमा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार ठाकुर गैरेले मतदातालाई भेट्न घरदैलो कार्यक्रम प्रभावकारी बनिरहेको बताउनुभयो । आफू पहिलो पटक चुनाव लडेकाले मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन घरदैलो गरेको बताउनुभयो । 

उम्मेदवारले चुनावी सभा, सम्मेलन गर्नेभन्दा पनि मतदातालाई व्यक्तिगत रूपमा भेटेर मनाउने प्रयास गरेका छन् । विगतमा चुनावी सभा, भेला तथा अनेक प्रचार शैली अपनाएका उम्मेदवार यसपटक मतदातालाई भिन्न शैलीमा फकाउने प्रयास गरिरहेको मतदाताको भनाइ छ । 

पाल्पा क्षेत्र नं. १ मा पनि एमालेको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका नारायणप्रसाद आचार्य र गठबन्धनका तर्फबाट काङ्ग्रेसबाट उम्मेदवार बन्नुभएका ज्ञानबहादुर गाहा मतदातालाई भेट्ने आफूहरू पनि सक्रिय रहेको बताउनुभयो । औपचारिक कार्यक्रम अझैँ सुरु भइनसकेकाले अहिले आफूले मतदाता तथा समाजका अगुवा व्यक्तिलाई भेटेर आफ्नो विचार तथा एजेण्डा सुनाएको आचार्यले बताउनुभयो । 

यस्तै, अर्का उम्मेदवार गाहाले पनि रामपुर, निस्दी क्षेत्रका मतदातालाई व्यक्तिगत रूपमा भेट्ने र आफ्नो उम्मेदवारीका बारेमा जानकारी गराउने गरेको बताउनुभयो । प्रतिनिधिसभाका उम्मेदवार मात्र होइन, प्रदेशसभाका उम्मेदवार पनि मतदातालाई भेट्न घरदैलो कार्यक्रममा व्यस्त बन्नुभएको छ ।